१३ बैशाख २०८१, बिहीबार
बाँके राष्ट्रिय निकुञ्ज आकर्षणको केन्द्र बन्दै, पर्यापर्यटनको प्रचुर संभावना

जङ्गल भ्रमण, चरा अवलोकन, क्याम्पिङ, हाइकिङ, होमस्टे, र्याफ्टिङ लगायतका प्याकेजले आन्तरिक पर्यटन प्रवर्धन हुने


  • टाइम्स संवाददाता

  • ११ भाद्र २०७९, शनिबार ११:२०

नेपालगञ्ज: बाँके राष्ट्रिय निकुञ्जले पर्यापर्यटन प्रवर्धन अभियान सञ्चालन गरेको छ । निकुञ्जमा पूर्वाधार तयार गर्दै पर्यापर्यटनका लागि प्रकृति तथा संस्कृतिमा असर नपर्ने गरी संरक्षण गतिविधिमा स्थानीय जनसहभागिता बढाउने र जीवजन्तु तथा सांस्कृतिक सम्पदा जस्ता विविध पक्षलाइ समेट्ने क्रियाकलाप भइरहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिनुभयो । उहाँका अनुसार निकुञ्जमा पर्यटनको सम्भावनालाई चिनाउन प्रचारप्रसार र प्रकृतिमा आधारित पर्यापर्यटन प्रवद्र्धनमा जोड दिन थालिएको छ । वन्यजन्तु र मानवबीच हुने द्वन्द्वलाई निकुञ्जका साथै सुरक्षाकर्मी, संरक्षणकर्मी र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले सहकार्यबाट न्यूनीकरण गर्दै आएका छन् । नेपालको कान्छो निकुञ्जको रुपमा चिनिने बाँके राष्ट्रिय निकुञ्जले छोटो अवधिमै संरक्षणमा फड्को मार्दै पर्यापर्यटन प्रवर्धनका लागि अगाडि बढेको छ ।

निकुञ्जमा पूर्वाधार तयार गर्दै पर्यापर्यटनका लागि आकर्षणको केन्द्र बन्न थालेको छ । बाघ संरक्षणको मुख्य उद्देश्य रहेको बाँके निकुञ्जमा बाघको सङ्ख्या बढेर २५ पुगेको छ । बाँके राष्ट्रिय निकुञ्ज पर्यापर्यटन प्रवद्र्धनका लागि सरोकारवाला निकाय जुर्मुराउन थालेका छन् । सरोकारवाला निकायबीचको समन्वय र सहकार्यबाट बाँके राष्ट्रिय निकुञ्जमा पर्यापर्यटन विकास गर्न लागिएको निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिकी संस्थापक अध्यक्ष सावित्रा पुनले बताउनुभयो । बाँके निकुञ्ज नेपालका एक सय गन्तव्यमा ५७औँ स्थानमा पर्दछ । विसं २०६७ मा बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके निकुञ्जमा २०१३ मा गणना गर्दा चार बाघ थिए भने २०२२ को गणनामा त्यो सङ्ख्या बढेर २५ पुगेको निकुञ्जले जनाएको छ ।

जैविक विविधताको संरक्षण, बाघ र बाघको आहारा प्रजातिको संरक्षण, मध्यवर्ती क्षेत्रका प्राकृतिक स्रोतको नियमन र व्यवस्थापन तथा पर्यापर्यटनको प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप काम भइरहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत साहले जानकारी दिनुभयो । करिब पाँच सय ५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको बाँके निकुञ्जमा स्तनधारी, चरा, सरिसृप, प्रजाति पाइन्छ । मुख्यतः बाघको बासस्थानका लागि उपयुक्त मानिएको निकुञ्जमा चौका प्रजाति पनि एक विशेषताका रुपमा देखिएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्रमा जिप, हात्ती सफारी, जङ्गल भ्रमण, चरा अवलोकन, क्याम्पिङ, हाइकिङ, होमस्टे, याफ्टिङ लगायतका प्याकेजले आन्तरिक पर्यटन प्रवर्धन हुँदै गएको छ ।

Nabintech