६ बैशाख २०८१, बिहीबार
अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइने

  • टाइम्स संवाददाता

  • १५ भाद्र २०७९, बुधबार ०९:११

कञ्चनपुर  : अन्तराष्ट्रिय गिद्ध सचेतना दिवस कञ्चनपुर सहित ३३ जिल्लामा मनाइने भएको छ। नेपाल पंछी संरक्षण संघको अगुवाईमा १४ औं अन्तराष्ट्रिय गिद्ध सचेतना दिवस भदौ १६ गते देखि २२ गते सम्म सप्ताहव्यापी रुपमा मनाइन लागेको हो।

प्रत्येक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिवार अन्तर्राष्ट्रिय गिद्ध दिवस मनाइने गरेको छ। गिद्धको महत्व, लोप हुनुको कारण र संरक्षणको प्रयासबारे जनचेतना जगाउनका लागि दिवस मनाउन लागिएको नेपाल पंछी संरक्षण संघका चरा विज्ञ हिरुलाल डगौराले बताए।

‘संघको अगुवाईमा मात्रै ३३ भन्दा बढी जिल्लामा ६७ वटा भन्दा बढी सामुदायीक संस्थाहरु, गैरसरकारी संस्थाहरु, विद्यालय, क्याम्पस, विभिन्न सरकारी निकाय तथा सञ्चारमाध्यमको संलग्नतामा दिवस मनाइने भएको छ’ उनले  भने, ‘दक्षिण अफ्रिकामा सन् २००५ देखिनै मनाईदै आएको गिद्ध राष्ट्रिय सचेतना दिवस बाट विकसित भै सन् २००९ बाट अन्तराष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको हो।’ उनका अनुसार सन् १९९० को दशक देखि दक्षिण एशियामा गिद्धको संख्यामा नाटकीय रुपमा कमी आएको छ। २३ वर्षको अवधिमा भारतमा डंगर गिद्धको संख्या ९१ प्रतिशतले घटेको देखिएको छ।

सुदूरपश्चिमको कैलाली जिल्लामा गरिएको सर्भेक्षणमा सन् २०१० मा ३५, सन् २०१३ मा ८२, सन् २०२१ मा २८ र सन् २०२२ मा १६ वटा गुँड फेला परेको छ। कञ्चनपुरमा गरिएको सर्भेक्षणमा सन् २०१० मा १, सन् २०२१ मा ५६, र सन् २०२२ मा ११० वटा गुँड फेला परेको छ।

‘कैलाली र कञ्चनपुरमा डंगर गिद्ध, सानो खैरो गिद्ध, गोब्रे गिद्ध र सुन गिद्धले प्रजनन गरेको तथ्याङ्क छ’ चरा विज्ञ डगौराले भने, ‘डंगर गिद्ध, सानो खैरो गिद्ध र सुन गिद्ध आइयुसिएनको अतिसंकटापन्न अबस्थामा रहेका छन भने गोव्रे गिद्ध दुर्लभ अवस्थमा रहेको छ।’

कैलाली र कञ्चनपुरमा सात प्रजातिका गिद्धहरु पाइने गरेका छन। राज गिद्ध र खैरो गिद्ध नेपालमा हिँउदका बेला पाहुनाका रुपमा जाडो छल्नका लागि आइपुग्ने गर्छन्। हिमाली गिद्ध नेपालको रैथाने भएपनि तराईमा जाडो  महिनामा मात्रै आउने गरेको पाइएको छ।

Nabintech