७ बैशाख २०८१, शुक्रबार
निलम्बित प्रधानन्यायाधीश जबरा बयानका लागि संसदीय समितिमा

  • टाइम्स संवाददाता

  • १५ भाद्र २०७९, बुधबार १२:३४

काठमाण्डाै: प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बयानका लागि बोलाएपछि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सिंहदरबार पुग्नु भएको छ । उहाँलाई संसद सचिवालयका मर्यादापालकहरुले सुरक्षा दिँदै सिंहदरबारभित्र पुर्‍याएका छन् ।

जबरामाथि कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक हलमा सोधपुछ गर्ने तयारी भएको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिनुभयो । जबरामाथि महाभियोग प्रस्तावमा उल्लेखित आरोप र सरोकारवाला निकायबाट प्राप्त प्रमाणका आधारमा सोधपुछ गर्ने समितिको तयारी छ । ती प्रमाणलाई एकत्रित गरेर समिति सदस्यलाई वितरण गरिएको छ ।

जबरालाई सोध्ने प्रश्नावली समितिले तयार गरिसकेको छ । जसमा संविधान र कानुनको गम्भीर उल्लंघन गरेर पदको दुरुपयोग गरेको, गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको, खराब आचरण र कार्यक्षमता अभाव, न्याय सम्पादनमा अवरोध गरेकोलगायत विषय समेटिएको छ ।

पदीय जिम्मेवारीविपरीत कार्यहरू गरी संविधान र कानुनको उल्लंघन गरेको, कार्यक्षमता नभएको, खराब आचरण र कर्तव्य पालना नगरेको भन्दै जबरामाथि गएको फागुन १ मा महाभियोग दर्ता भएको थियो । त्यसपछि उहाँ स्वतः निलम्बनमा पर्नुभएको थियो । जबराविरुद्धको महाभियोग प्रस्ताव गएको वर्ष फागुन २९ गते प्रतिनिधिसभाको बैठकमा पेस भएको थियो ।

Nabintech