१२ बैशाख २०८१, बुधबार
बाँकेका भूमिहीनहरु विखलबन्दमा, जग्गाको श्रेस्ता कायम हुन सकेन

सरकार परिवर्तनसँगै फेरबदल भइरहने आयोगप्रति नागरिकहरु विश्वस्त छैनन


  • यदुराज मिश्र

  • १५ भाद्र २०७९, बुधबार १३:०५

नेपालगञ्ज : जग्गाको श्रेस्ता कायम नहुँदा बाँकेका भूमिहीनहरु विखलबन्दमा परेका छन् । सरकार परिवर्तनसँगै फेरिने भूमि आयोगले समेत पीडितहरुको सवालमा काम गर्न नसेकेको उनीहरु दुःखेसो सुनाउँछन् । कोहलपुर नगरपालिका ९ का गोपाल प्रसाल खनालको हातमा लालपूर्जा छ । तर मालपोत कार्यालयमा श्रेष्ता कायम हुन सकेको छैन । २०६७ सालमा लालपूर्जा पाएपनि श्रेष्ता कायम नहुँदा खनाल मालपोत कार्यालय र भूमि आयोगको कार्यालयमा धाउन थालेको एक दशक बढी भइसकेको छ ।

चेत बहादुर वलीको पीडा पनि उस्तै छ । कोहलपुर नगरपालिका वडा नम्वर ८ का वलीले ६७ सालमा लालपूर्जा पाउनुभयो । तर मालपोत कार्यालयले श्रेष्ता कायम गरेको छैन । जस्का कारण उहाँले राजश्व बुझाएपनि जग्गा आफ्नो हुन सकेको छैन । खनाल र वलीमात्र होइन अधिकांश भूमिहीनहरुको पीडा यस्तै छ । भूमि आयोगहरुले दिएका लालपूर्जाहरु मालपोत कार्यालयले श्रेष्ता कायम नगरिदिदा उनीहरु विखलबन्दमा परेका छन् ।

भूमि आयोग बाँकेका अध्यक्ष श्रवण कुमार यादवले भने विगतका आयोगहरुले गरेका कामहरुको फेरिहस्ता भेट्न मुश्किल परेको बताउँछन् । लालपूर्जा भएपनि मालपोतमा श्रेष्ता कायम नभएको भेटिएको उनको भनाइ छ । यो आयोग शक्तिशाली भएकाले आसन्न चुनाव अगाडि नै भूमिहीन तथा सुकुम्बासीहरुलाई लालपूर्जा दिने तयारीमा आफु रहेको उनले बताए । सरकार परिवर्तनसँगै फेरबदल भइरहने आयोगप्रति नागरिकहरु विश्वस्त छैनन । आयोग बन्ने, फारम भर्न लगाउने तर काम नगर्ने प्रवृत्तिका कारण पीडितहरु यस्ता आयोगबाट न्याय पाउनेमा भने आश्वस्त हुन सकेका छैनन ।

Nabintech