१४ बैशाख २०८१, शुक्रबार
नेपालगञ्ज नाकामा मोबाइल नहुने व्यक्तिको क्षयरोग जांचिदैन

अहिलेसम्म एक हजार तीन सय जनाको क्षयरोग जाँच भइसकेको छ, २०७८ साउन १ गतेदेखि नाकामा टिबी जाँच भइरहेको छ


  • टाइम्स संवाददाता

  • १६ भाद्र २०७९, बिहीबार १३:५४

नेपालगञ्ज : नेपालगञ्ज नाकामा मोबाइल नहुने व्यक्तिको क्षयरोग अर्थात् ट्युबरक्युलोसिस (टिबी) जाँच नभएको पाइएको छ । सरकारले भारतबाट आएका सबै व्यक्तिको टिबी जाँच गर्न भने पनि नाकामा रहेको हेल्थडेस्कमा मोबाइल नहुने व्यक्तिको टिबी जाँच नभएको पाइएको हो । भारतमा मजदुरी गरेर फर्किएका नेपालीको नेपालगञ्ज नाकामा रहेको हेल्थडेस्कमा टिबी जाँच हुने गर्दछ ।

मोबाइल नहुने व्यक्तिलाई ‘रोग’ देखिएमा खबर गर्न नसकिने भएकाले उनीहरूको जाँच नै नहुने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीका अनुसार नेपालगञ्ज नाकामा भारतबाट आएका व्यक्तिको खकार संकलन गरिन्छ । त्यसलाई टिबी अस्पतालमा पठाइन्छ अनि रोग देखिएमा उसलाई मोबाइल नम्बरमा फोन गरेर जानकारी दिइन्छ ।

जानकारीपश्चात् उसलाई सम्बन्धित स्थानीय तहमा रहेको स्वास्थ्य संस्थाबाट औषधी खान अनुरोध गरिन्छ । भारतबाट आएका व्यक्ति खकार दिएर घरतर्फ जान्छन्। खकार जाँच गर्न केही दिन लाग्छ । ऊ रिपोर्ट आउन्जेल बस्ने कुरा हुँदैन । खकार रिपोर्ट आउँदासम्म ऊ घरमा पुगिसकेको हुन्छ । मोबाइल नहुने व्यक्तिलाई रिपोर्टबारे खबर गर्न सकिँदैन । त्यसैले मोबाइल नभएका व्यक्तिको खकार जाँच नगरिएको हो । शंकास्पद व्यक्तिलाई स्थानीय तहमा रहेको स्वास्थ्य संस्थामा गएर टिबी जाँच गर्न सल्लाह दिने गरिएको छ ।

भारतमा कुल्ली काम गरेर आएका व्यक्ति, ध्रुमपान गर्ने, खोकिरहने, घरपरिवारमा कसैलाई टिबी भएकाहरूलाई विशेष प्राथमिकताका साथ जाँच गर्ने गरिन्छ । स्वास्थ्यकर्मीले शरीर हेरेर पनि कतिपयलाई अनुमान गरिरहेका हुन्छन् । नेपालगञ्ज नाकामा २०७८ साउन १ गतेदेखि टिबी जाँच भइरहेको छ । अहिलेसम्म एक हजार तीन सय जनाको जाँच भइसकेको चिरञ्जीवीले बताए । जसमध्ये १३ जनामा टिबी देखिएको छ । सरकारले नाकामा कोरोना, मलेरिया, डेंगु, टिबी, कालाजारको जाँच गर्न हेल्थ डेस्क राखेको थियो ।

यो नाकामा अहिलेसम्म कोरोना, मलेरिया र टिबीको मात्रै जाँच भइरहेको छ । डेंगु र कालाजारको जाँच सुरु नै गरिएको छैन । हेल्थ डेस्कमा दरबन्दीका पाँच जना कर्मचारीलाई खटाइएको छ । अस्थायी करार १२ जना छन् । संघ संस्थाले पनि बेलाबेलामा सहयोग गरिरहेका छन् । ल्याब टेक्निसियन ज्ञवालीले किट पठाइदिएमा डेंगुको जाँच गर्न सकिने बताए । कर्णाली प्रदेशका विभिन्न जिल्लाका ठूलो संख्याका मानिस भारतको विभिन्न सहरमा मौसमी काम गर्न जाने गर्दछन् । चाडबाड नजिकिँदै गएकाले भारतबाट फर्किनेको चाप बढ्दो छ । उनीहरूलाई सरकारले घोषणाअनुसारका सबै रोगको जाँच गर्न जरुरी देखिन्छ ।

Nabintech