१३ बैशाख २०८१, बिहीबार
जुम्लामा केबुलकारको सम्भाव्यता अध्ययन

  • रासस

  • १७ भाद्र २०७९, शुक्रबार ११:१९

जुम्ला : जिल्लामा केबुलकारको सम्भाव्यताबारे अध्ययन गरिएको छ। चन्दननाथ नगरपालिकाको धिमीदेखि चेरेचौर खाली र दानसाँघु हुँदै चिमारा मालिका लेकको दुई ठाउँसम्म केबुलकारको सम्भाव्यता अध्ययन गरिएको हो।

केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर रोपवे नेपाल प्रालिको टोली फर्किएको छ। आन्तरिक र बाह्य पर्यटनको सम्भावनालाई ध्यानमा राखेर केबुलकारको सम्भाव्यता अध्ययन गरेको चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले बताए। धार्मिक पर्यटनका लागि चन्दननाथ मन्दिर र डुडुल चैत्य महत्त्वपूर्ण गन्तव्य हुन् । ती दुवै चन्दननाथ नगरपालिकाभित्र पर्छन् ।

धिमीदेखि चेरैचौर हुँदै खाली जोड्न केबुलकार सञ्चालनमा ल्याउन सके मुगुको रारा जान चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई राहत मिल्ने नगरप्रमुख कठायतले बताए।

यो क्षेत्रमा काठमाडौं महानगरपालिकासँगको साझेदारीमा धिमीचौरमा तीन करोड रुपैयाँको लागतमा उद्यान निर्माणको काम भइरहेको छ। दानसाँघुदेखि चिमारासम्म केबुलकार सञ्चालन गर्न करिब चार अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

Nabintech