१३ बैशाख २०८१, बिहीबार
सुरुमा कम शो पाएको भन्दै आक्रोशित बनेका प्रदीपको ‘प्रकाश’ले एकसातामा कति गर्‍यो व्यापार?

जुम्लामा छायाङ्कन गरिएको यस फिल्मले एक निम्नवर्गिय गाउँले युवकले शिक्षक बन्न गरेको संघर्षको कथा समेटेको छ


  • टाइम्स संवाददाता

  • १७ भाद्र २०७९, शुक्रबार १५:२९

काठमाडौं : प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘प्रकाश’ले एकसातामा १ करोड ७० लाखको व्यापार गरेको छ। गत शुक्रवार रिलिज भएको यस फिल्मले नेपालभरबाट १ करोड ७० लाख ग्रस कलेक्सन गरेको वितरक रोहित कट्टेलले जानकारी दिए।

‘हिजो बिहीवारसम्म ‘प्रकाश’ले  बक्सअफिसमा १ करोड ७० करोड कलेक्सन गरेको छ। प्रदर्शनको पहिलो दिन दर्शक ठीकै आएपनि शनिवारदेखि नै हलहरु हाउसफुल छन्। राम्रो कथा भएका कारण दर्शकले यस फिल्मलाई मन पराउनुभएको छ। माउथ पब्लिसिटीले पनि हलसम्म दर्शक तान्न सहयोग गरेको छ,’ कट्टेलले भने।

उनी दोस्रो सातामा हलहरुले राम्रै शो दिएकाले फिल्मको व्यापार उत्साहजनक हुनेमा आशावादी छन्। फिल्मले राम्रो व्यापार गरेकै कारण हलहरूले पनि शो थपेको दाबी कट्टेल गर्छन्।

प्रदर्शनको पहिलो दिन अभिनेता प्रदीपले पत्रकार सम्मेलनमा कम शो पाएको भनि आक्रोश पोखेका थिए। हिन्दीको तुलनामा नेपाली फिल्मलाई कम शो दिएर प्रदर्शकले विभेद गरिएको उनको आरोप थियो।

त्यसको भोलिपल्ट मल्टिप्लेक्स हलहरूले प्रकाशको शोको संख्यामा वृद्धि गरेका थिए। माउथ पब्लिसिटी र शो थपिएसँगै यस फिल्मले यतिखेर उत्साहजनक व्यापार गरिरहेको छ।

आज शुक्रवार नेपाली फिल्म ‘सम्हालिन्छ कहिले मन’ र ‘झिँगेदाउ’ प्रदर्शनमा आएका छन्। तर, दोस्रो हप्तामा लाग्दा समेत यी फिल्महरूभन्दा ‘प्रकाश’ कै शो बढी छ।

प्रकाश राउत निर्देशित यस फिल्ममा प्रदीपका साथै दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे र पवित्रा खड्का लगायतका कलाकारहरुको अभिनय छ। जुम्लामा छायाङ्कन गरिएको यस फिल्मले एक निम्नवर्गिय गाउँले युवकले शिक्षक बन्न गरेको संघर्षको कथा समेटेको छ।

Nabintech