१५ चैत्र २०८०, बिहीबार
बालविवाह न्यूनीकरणबारे चेतना फैलाउँदै सल्यान प्रहरी

  • टाइम्स संवाददाता

  • १७ भाद्र २०७९, शुक्रबार १६:०७

सल्यान : सल्यान प्रहरीले बालविवाह न्यूनीकरणसम्बन्धी विद्यार्थीलाई जानकारी दिन थालेको छ। समाजमा बढ्दै गएको बालविवाहविरुद्ध विद्यार्थीलाई सचेत गराउन कक्षा शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

जिल्लाका स्कुल स्कुल पुगेर बालविवाह, यसको पारेको सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक असर, बालविवाहबाट सृजित महिला हिंसा, घरेलु हिंसा लगायतका विषयमा विद्यार्थीहरूलाई प्रशिक्षण दिँदै आइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख दामोदर केसीले बताए।

प्रहरीको जिम्मेवारी अपराधी नियन्त्रण, घटना अनुसन्धान र शान्ति–सुव्यवस्था कायमजस्ता क्षेत्रमा मात्रै सीमित छैन भन्ने छर्लंग नहुँदा प्रहरी, समाजभन्दा परको जस्तो ठान्ने धेरै भेटिन्छन्।

घरेलु हिंसा, लागुऔषध दुव्यर्सनविरुद्ध सचेतना, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन लगायतबारे सर्वसाधारणलाई चेतनशील बनाउने जिम्मेवारी पनि प्रहरीले लिएको उनको भनाई छ।

युवा र बालबालिका आपराधिक क्रियाकलापमा संलग्नताका हिसाबले जोखिममा परेको वर्ग भएकाले प्रहरीले चेतनामूलक कार्यक्रमलाई विद्यालयकेन्द्रित गरेको केसीले बताए।

उनले भने‚ ‘प्रहरी एकाइभन्दा भौगोलिक हिसाबले टाढा रहेका वेला आफूलाई कुनै समस्या आइलागे कसरी प्रहरीको सहयोग लिन सकिन्छ भन्ने विषयमा पनि सिकाउँदैछौं।’

समाजमा शान्तिसुरक्षा कायम गर्न, जनतासँग प्रहरीको साझेदारी बढाउन, विभिन्न अपराधविरुद्ध जनतालाई चनाखो बनाउन र युवामा बढ्दै गएको लागुऔषध दुर्व्यसन तथा प्रविधिको गलत प्रयोग नियन्त्रण गर्न सचेतनाले ठूलो भूमिका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले बताए।

चालु आवमा मात्र ९ विद्यालयमा बालविवाहसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको खनालको भनाई छ।

विद्यालयमा विद्यार्थीलाई मात्र नभएर समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला विभिन्न स्थानमा लागुऔषध दुर्व्यसन, महिला हिंसा, घरेलु हिंसा, बहुविवाह न्यूनीकरण, सवारी दुर्घटना न्यूनीकरण लगायतका जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको प्रहरीले जनाएको छ।

Nabintech