१२ बैशाख २०८१, बुधबार
गौरा पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ : राष्ट्रपति भण्डारी

  • टाइम्स संवाददाता

  • १८ भाद्र २०७९, शनिबार ०८:३५

राष्ट्रपति विद्यादेवी भण्डारीले गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै समाजमा विद्यमान अन्धविश्वास, विभेद, विकृति एवम् विसंगतिलाई अन्त्य गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।  गौरा पर्व २०७९ का अवसरमा दिएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरिन् ।

‘गौरा पर्व मनाउने सन्दर्भमा परदेश गएका घर फर्कने, विवाहिता महिला माइत जाने, गहुँ, केराउ, गहत लगायत ५ प्रकारका अन्नको मिश्रणबाट बनेको ‘बिरुडा’लाई प्रसादको रूपमा ग्रहण गरी देउडा, धमारी र ढुस्को खेल्दै रमाइलो गर्ने प्रचलन रहेको छ,’ सन्देशमा भनिएको छ, ‘यस पर्वले पारिवारिक तथा सामाजिक जीवनमा आपसी प्रेम, विश्वास र सम्बन्ध प्रगाढ बनाउनुका साथै विविध जातजाति, भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका सम्पूर्ण नेपालीबीचको भावनात्मक एकतालाई बलियो बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ भन्ने मलाई लागेको छ ।’

Nabintech