१३ बैशाख २०८१, बिहीबार
बारामा मध्यराति डाँका समूह र प्रहरीबीच गोली हानाहान

डाँका समूहले फलामको रड प्रहार गर्दा वरिष्ठ सई कमलबहादुर शाही घाइते


  • टाइम्स संवाददाता

  • १९ भाद्र २०७९, आईतवार १०:३६

बारा : बारामा डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ मा रहेको एरोटेक प्रालिमा लुटपाट गर्न पुगेका हतियारधारी डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको हो ।

करिब १५/२० जनाको डाँका समूहले शनिवार मध्यरात जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुहिस्थित ग्यास सिलिण्डर बनाउने एरोटेक प्रालिमा लुटपाट गर्न पुगेका थिए । उद्योगका कर्मचारीले खबर गरेपछि तत्कालै प्रहरी पुग्यो । प्रहरीलाई देखेर डाँका समूहले भाग्दै गर्दा प्रहरीले तीन राउण्ड हवाई फायर गरेको बुझिएको छ ।

सो क्रममा प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका ९ बस्ने ३५ वर्षीय जयराम पासवान र सोही पालिका वडा नम्बर १० बस्ने ४० वर्षीय जवाहिर महतो पक्राउ गरेको छ भने घटनास्थलबाट एक थान बन्दुक र त्यसमा लाग्ने तीन वटा गोली र एक थान एकनाले बन्दुक बरामद भएको प्रहरीले जनाएको छ।

डाँका समूहले फलामको रड प्रहार गर्दा वरिष्ठ सई कमलबहादुर शाही घाइते हुनुभएको छ । उहाँको टाउकोमा गम्भीर चोट लागेको र उहाँको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाउको छ ।

Nabintech