१३ बैशाख २०८१, बिहीबार
गण्डकी प्रदेशस्तरीय बास्केटबलमा पर्वत विजेता

  • टाइम्स संवाददाता

  • २० भाद्र २०७९, सोमबार ०६:५९

पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितालक्षित गण्डकी प्रदेश स्तरीय बास्केटबल प्रतियोगितामा पर्वत जिल्लाले उपाधि चुमेको छ। गत भदौ १७ गतेदेखि पोखरामा सुरु भएको बास्केटबल तर्फको प्रतियोगितामा म्याग्दीलाई पछि पार्दै जित हात पारेको पर्वतको समूहका व्यवस्थापक कृष्ण पुनले बताए।

प्रतियोगितामा म्याग्दी दोस्रो, कास्की तेस्रो र स्याङ्जा सान्त्वना स्थान हात पारे।  पर्वतबाट बास्केटबलमा एन्जल गर्वुजा, बबिन गर्वुजा, केशव खोर्जा, डीमन शेर्पुन्जा, सुजन शेर्पुन्जा, विकास शेर्पुन्जा, जीवन पुर्जा, सनम पुर्जा र प्रदीप पाइजाले सहभागिता जनाएका थिए।

विजेता खेलाडीलाई आइतबार साँझ पर्वतको पुन युवा क्लबले बाजागाजा सहित बधाइ तथा सम्मान गरेको छ। पर्वतले पहिलो पटक बास्केटबलमा प्रदेशस्तरीय उपाधि पाएकाले त्यसको खुसीमा जिल्ला समन्वय समितिका उपप्रमुख सोम जिसी सहितको सहभागितामा कार्यक्रम गरिएको हो।

पर्वतका खेलाडी म्यानेजर कृष्ण पुनले खेलाडी तथा व्यवस्थापकीय पक्षको अथक मिहिनेतका कारण  पर्वतले इतिहासमै पहिलो पटक खेल जित्न सकेको बताए।

जिल्ला बास्केटबल संघ पर्वतका अध्यक्ष तथा कोचका रूपमा प्रतियोगितामा पुगेका मिलन पाइजा पुन मगरले सातौँ र आठौँ प्रतियोगितामा आफै खेलाडी भएर जाँदाको अनुभवको आधारमा खेलाडीलाई कडा मिहिनेत गराएर प्रतियोगितामा सहभागी गराएको बताए।

 

Nabintech