७ बैशाख २०८१, शुक्रबार
कोहलपुर नगरपालिकाद्वारा जग्गाधनी लालपूर्जा वितरण

  • टाइम्स संवाददाता

  • २२ भाद्र २०७९, बुधबार १७:३०

नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिकाले जग्गाधनी प्रमाण पूर्जा वितरण गरेको छ । कोहलपुर नगरपालिका–४ मा रहेको गोहवा र बेलनपुरमा गाउँ ब्लकका १ सय १ जनालाई प्रमाण पूर्जा वितरण गरिएको छ ।

बुधबार कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी र ४ का वडा अध्यक्ष मुबारक अलि गुजरले संयुक्तरुपमा १ सय १ जनालाई जग्गाधनी प्रमाण पूर्जा वितरण गरिएको हो ।

जग्गा धनी लालपूर्जा वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुरमा जग्गा वितरणको काम शुरु भइसकेको र केही महिनामा सबै वडामा जग्गा धनी लालपूर्जा वितरण हुने बताए ।

‘अहिले नापी कार्यालयबाट जग्गा नाप्ने काम तिव्र गतिमा भइरहेको छ’ उनले भने ‘अबको केही महिनामा सबै वडामा जग्गा धनी लालपूर्जा वितरण हुन्छ ।’ संविधानमा भएको नागरिकको हक कार्यान्वयलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको नगर प्रमुख आचार्यले बताए ।

यस्तै कोहलपुर नगरपालिका उप–प्रमुख संगिता सुवेदीले कोहलपुरका ३ वडामा गाउँ ब्लकका जग्गा धनी लालपूर्जा वितरण गरिसकेको बताइन् । ‘विगत लामोसमयदेखि जग्गा उपभोग त गर्नुभयो तर स्थायी लालपूर्जा पाउन नसक्दा निकै पिडा भोग्नु प¥र्यो’ उनले भनीन्, ‘तर अब उपभोग गरिरहेको जग्गाको तपाईहरुकै हातमा जग्गा धनी लालपूर्जा छ । अब तपाईहरुले बैंक तथा वित्तिय कर्जाहरुमा जग्गाधनी लालपूर्जाले निकै सहयोग हुने सुवेदीको भनाई थियो ।

यस्तै नापी कार्यालय बाँकेका प्रमुख सहदेव सुवेदीले गाउँ ब्लकमा उपभोग गरि बसिरहेका जग्गाधनी लालपूर्जा लिनका लागि कार्यालयमा निवदेन दिइसकेपछि छानविन गरी जग्गा धनी लालपूर्जा उपलब्ध गराउने बताए ।

यस्तै वडा अध्यक्ष मुबारक अलि गुजरले वडा अध्यक्ष भएको पहिलो काम लालपूर्जा वितरण गर्ने उद्देश्य थियो सोही अनुसार आज लालपूर्जा वितरण गरिएको बताए ।

यस्तै कार्यक्रममा कार्याक्रममा कोहलपुर नगरपालिका १२ का अध्यक्ष विरेन्द्र शाह, कार्यापालिका सदस्य, पुर्व वडा अध्यक्ष, पुर्व वडा सदस्य, पत्रकार र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Nabintech