१६ चैत्र २०८०, शुक्रबार
कञ्चनपुरको शुक्लाफाँटामा बढ्यो बालविवाह, उमेरै नपुगी धमाधम बच्चा जन्माउँदै

  • टाइम्स संवाददाता

  • २३ भाद्र २०७९, बिहीबार १०:३१

कञ्चनपुर : कानुन अनुसार २० वर्ष उमेर नपुगी विवाह गर्न पाइँदैन। शुक्लाफाँटा नगरपालिकामा भने बालविवाह गरी बच्चा जन्माउने किशोरीको संख्या बढ्ने क्रममा छ।

अभिभावकको सहमतिमा हुने बालविवाह घटे पनि सामाजिक सञ्जालको माध्यमबाट चिनजान गरी प्रेमविवाह गर्ने क्रम बढेको छ। बालविवाहका कतिपय मुद्दा प्रहरीसम्म पुग्ने गरेका छन्।

प्रहरीमा पुगेका बालविवाहका मुद्दा दर्ता गरी कानुनी प्रक्रियामा समेत लैजाने गरिएको छ। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले चालूआवमा एक बालविवाहको मुद्दा दर्ता भै कानुनी प्रक्रियामा रहेको बताए।

‘बालविवाहका मुद्दा आए तुरुन्तै दर्ता गरी कानुनी प्रकृयामा लगिन्छ’ उनले भने, ‘विद्यमान कानुन अनुसार बालविवाह गराए तीन वर्ष कैद र जरिवानाको व्यवस्था छ। त्यस्तो विवाह बदर समेत हुन्छ।’

बालविवाह गरेर घरबाट भागेका किशोर किशोरीका अभिभावकले प्रहरीमा घरबाट हराएकाले खोजतलासका लागि निवेदन दिने गरेका छन्। प्रहरीले हराएका किशोरकिशोरीको खोजतलास गरी अभिभावक जिम्मा लगाउने गरेको छ। बालविवाह गरेको भनेर कसैले पनि प्रहरीमा उजुरी दिँदैनन्। भागेर विवाह गर्ने किशोरकिशोरीलाई अभिभावकले आश्रय दिँदा बालविवाह न्यूनीकरण गर्न समस्या भएको नसकेको वडा नं १२ का अध्यक्ष नवलसिंह रानाले बताए।

‘बालविवाह न्यूनीकरणका लागि कानुन बनेको छ’, उनले भने, ‘व्यावहारिक पक्ष हेर्दा अधिकांश बालविवाह गर्नेहरूले उन्मुक्ति पाइरहेका छन्।’ उनका अनुसार यसरी गरिने विवाह लामो समय सम्म टिक्दैन। १४ देखि १७ वर्षको उमेरमा गरिने विवाह २० वर्षको उमेर नपुग्दै सम्बन्ध विच्छेदमा पुगेर टुंगिने गरेको छ।

‘उमेर नपुगिकनै गरिने बालविवाहले पार्ने दीर्घकालीन असरबारे अभिभावकले जानकार हुनुपर्छ’, नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भने, ‘बालविवाह गरी २० वर्ष अघि नै बच्चा जन्माउनुआमा र शिशुका लागि घातक हुन सक्छ, यस्तो अवस्थामा दुवै जनाको ज्यान जान सक्छ।’

२० वर्ष मुनिका किशोरीमा प्रजनन अंगको पूर्ण रूपमा विकास भइनसकेको हुने स्वास्थ्यमा गम्भीर असर पुग्ने भट्ट बताउँछन्। पारिवारिक जिम्मेवारी थपिने भएकाले शिक्षा र रोजगारीका अवसरबाट वञ्चित हुनुपर्ने अवस्था आउने उनको भनाइ छ।

‘सानै उमेरमा बच्चा जन्माए बच्चाको तौल कम हुने, रगतको कमी भै एनिमिया हुने, सामान्य किसिमले प्रसूति नहुने हुन सक्छ’ उनले भने, ‘बच्चा पाउने किशोरीमा नैराश्य उत्पन्न हुने,आत्मबल कम हुने, बच्चा र आमामा दीर्घकालीन स्वास्थ्य जटिलता देखिन सक्छ।’

उनका अनुसार आब ०७८\७९ मा नगरपालिकामा रहेका बर्थिङ सेन्टरमा एक हजार ६३३ गर्भवतीले जाँच गराएका थिए। गर्भ जाँच गराउन पुगेका ११५ जना २० वर्षमुनिका रहेका थिए। गर्भजाँच गराउन आउनेमा १६ वर्ष देखि १७ वर्ष मुनिका रहेको उनले बताए।

जटिल प्रकृतिका शल्यक्रिया गराउने अवस्थाका २५ जना र बर्थिङ सेन्टरमा गर्भ जाँच हुन नसक्दा अन्यत्र पठाइएका ११ जना थिए। आब ०७७\७८ मा सानै उमेरमा बच्चा जन्माउना लागि बर्थिङ सेन्टर पुग्नेको संख्या ५५ थियो।

नगरपालिकाका स्वास्थ्य चौकीमा सुरक्षित गर्भपतन गराउन आएका ११६ जनामध्ये एक किशोरी पनि थिइन्। अनिच्छित गर्भपतनका लागि उनी स्वास्थ्य चौकी आएको स्वास्थ्यकर्मीले बताए।

Nabintech