१६ चैत्र २०८०, शुक्रबार
सन्दीपले मागे कानुनी उपचारका लागि क्यानको सहयोग

  • टाइम्स संवाददाता

  • २३ भाद्र २०७९, बिहीबार ११:३८

काठमाडौँ: बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको भन्दै कानुनी सहयोगका लागि क्यानसँग आग्रह गरेका छन् ।

क्यारेवियन प्रिमियर लिग खेल्न हाल वेस्ट इन्डिजमा रहेका सन्दीपले नेपाल क्रिकेट सङ्घ (क्यान)सँगको कुराकानीमा बलात्कारको आरोप अस्वीकार गर्दै कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका हुन।

क्यानका कार्यवाहक प्रशिक्षक प्रशान्त विक्रम मल्लले सन्दीपले आफू यो आरोपको सामनाका लागि कानुनी लडाइँ लड्न तयार भएको र त्यसका लागि क्यानले कानुनी पाटोमा सहयोग गरिदिन भनेको बताउनुभयो ।

उहाँले सन्दीपसँग क्यानले सम्पर्क गरेको र उनले लिग सकेर नेपाल फकिएपछि अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको पनि बताउनुभयो  ।

यसअघि क्यानले कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपमा  तत्काल केही छानबिन नगर्ने बताइसकेको छ।  क्यानका अध्यक्ष चतुर बहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विषयमा क्यानले तत्काल केही नगर्ने बुधवार बताउनुभएको थियो । अध्यक्ष चन्दले  कानुनी रूपमा पुष्टि नभइन्जेल सन्दीपलाई निलम्बन वा कुनै पनि किसिमको कारबाही नगर्ने पनि  बताउनुभएको थियो ।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल)क्रिकेट खेल्नका लागि अहिले वेस्टइण्डिजको जमैकामा छन् ।  उनी विरुद्ध बलात्कार आरोपमा मुद्दा दर्ता भएको छ ।

Nabintech