१५ बैशाख २०८१, शनिबार
गठबन्धन छोडेर एमालेसँग सहकार्य गर्दै जसपा

मधेश प्रदेशका ३२ सिटमा एमाले–जसपाले १६–१६ सिट लिएर जानेगरी प्रस्ताव


  • टाइम्स संवाददाता

  • २४ भाद्र २०७९, शुक्रबार १५:१९

काठमाडौं: सत्ता गठबन्धनले सिट बाँडफाँटमा न्याय नगर्ने देखिएसँगै जनता समाजवादी पार्टीले एमालेसँग तालमेल गर्ने संकेत गरेको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि उम्मेदवार सिफारिशमा दलहरु व्यस्त भइरहँदा गठबन्धनको मुख्य घटक जसपाले गठबन्धन छोड्ने अन्तिम तयारी गरेको हो ।

यत्तिखेर जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूहरुलाई सम्मानजनक व्यवहार नभएको भन्दै एमालेसँगभित्रभित्रै सहकार्य सुरु गरिरहेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सम्पर्क बढाएका उपेन्द्रले मधेश प्रदेशका ३२ सिटमा एमाले–जसपाले १६–१६ सिट लिएर जानेगरी प्रस्ताव राख्नुभएको हो ।

मधेस प्रदेशका ८ जिल्लामा प्रतिनिधिसभामा ३२ र प्रदेशसभामा ६४ सिट छन् । यादवले ३२ मा १६ सिट प्रतिनिधिसभातर्फ लिने र प्रदेशसभातर्फ पनि ५०–५० प्रतिशत सिट लिएर जान सकिने प्रस्ताव राखेको स्रोतको दाबी छ  । यादवको प्रस्ताव ओली पनि सकारात्मक देखिनुभएको बताइएको छ । अध्यक्ष यादवले हिजोमात्र कुनैपनि बेला गठबनन्धन छोडिने भन्दै सार्वजनिक अभिव्यक्ति दिइसक्नुभएको छ ।

आज–भोलिभित्रै दुई नेताबीच छलफल हुने र निश्कर्षमा पुगिने दुवै पार्टीका दोस्रो तहका नेताहरुको दाबी छ । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले मधेश प्रदेशको ३२ सिटमा एक्लै १६ सिटमा दाबी गरेपछि यादव बिच्किनुभएको हो । उता सत्ता गठबन्धनले लोभ देखाएर पनि टिकट दिने कुनै छाँटकाँट नदेखाएसँगै लोकत्रान्तिक समाजवादी पार्टी (लोसपा) पनि ओली तिरै नजिकएको छ ।

यसअघि एमालेविरुद्ध महागठबन्धन बनाउने भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोसपालाई पनि पाँच दलीय गठबन्धनमा मिसिन भनेका थिए।

त्यहीअनुसार तीन चरण वार्ता पनि भएको थियो। तर मधेश प्रदेशका सिटलाई लिएर पाँच दलीय गठबन्धन नै संकटमा परेपछि लोसपाले एमालेसँग निकटता बढाएको हो।

देउवाले गठबन्धनमा आउन भने पनि ठोस खाका नदिएपछि अब लोसपाले एमालेसँग सहकार्य गर्न लागेको हो। लोसपासँग मिलेर अघि बढ्न एमाले दलका उपनेता सुवास नेम्वाङ र नेता गोकुल बास्कोटाले वार्ता गर्नुभएको थियो ।

Nabintech