• १४ आश्विन २०७९, शुक्रबार
दार्चुला बाढीपहिरो अपडेट : पाँचजनाको मृत्यु एकै परिवारका तीन बेपत्ता, हेलिकोप्टरबाट उद्धार

महाकाली नदी र लास्कु खोलामा आएको बाढीले खलंगा हुँदै दुहुँ व्यास जोड्ने सडक अवरुद्ध


  • रासस

  • २५ भाद्र २०७९, शनिबार ११:४५

दार्चुला : जिल्लामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ। लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँचजनाको मृत्यु भएको हो।

अविरल वर्षासँगै गएराति आएको पहिरोले घर लैजाँदा नौगाड गाउँपालिकामा तीनजनाको मृत्यु भएको हो। नौगाड गाउँपालिका वडा नम्बर १ सल्लाका ३७ वर्षीया जानकी ठगुन्ना १३ वर्षीया धनुली ठगुन्ना र वडा नम्बर २ का मोहनराम पार्कीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख जगत गाहा मगरले जानकारी दिए। पहिरोले यहाँ १२ घर पूर्णरूपमा क्षति पुगेको छ।

यस्तै लास्कु खोलामा आएको बाढीले महाकाली नगरपालिका–३ डुङुरीका मानमति कार्की र महाकाली नगरपालिका २ का नन्दराम बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ। लास्कु खोलामा आएको बाढीले मानमतिका श्रीमान् धनसिंह कार्की, छोराहरू दीपक र दिनेश कार्की बेपत्ता भएको जिल्ला प्रहरी प्रमुखमगरले जानकारी दिए। उनीहरूको खोजी भइरहेको छ।

डुङुरी पावर हाउसमाथिबाट आएको लास्कु खोलाले कार्कीको पसलमा पूरै क्षति पुर्‍याएको छ। पावर हाउस बगाएको छ । निर्माणाधीन खार–खल‌ंगा सडकमा प्रयोग भएको जेसीभी पनि बगाएको छ।

महाकाली नदी र लास्कु खोलामा आएको बाढीले खलंगा हुँदै दुहुँ व्यास जोड्ने सडक अवरुद्ध बनेको छ। दार्चुला तिंकर सडकअन्तर्गत रिङलतालदेखि कलौन भीरसम्म सडक अवरुद्ध भएको छ। दुहुँ गाउँपालिका र महाकाली नगरपालिका जोड्ने यो सडक बगाएपछि यो क्षेत्रमा आवतजावतमा समस्या भएको छ । महाकाली तटबन्ध हुँदै निर्माण गरिएको दार्चुला तिंकरसडकमा पूर्णरूपमा क्षति पुगेको छ।

लास्कु खोलामा निर्माण गरिएको मोटेरबल पुल र झोलुङ्गे पुल बगाएको छ। पुल नहुँदा वारपार गर्न सकिने अवस्था छैन।

महाकाली ४ बंगाबगड हुँदै वडा नम्बर १ छापरी जाने पुल बगाएको छ। दार्चुला तिंकर सडकमा राति पार्किङ गरी राखिएका जिप महाकालीले बगाएको स्थानीय चक्रबहादुर बमले बताए।उनका अनुसार पाँच वटा जिप, एक ट्र्याक्टर र एक ट्रली बगाएको छ।

अपडेट: गए राति परेको अविरल वर्षासँगै दार्चुलामा आएको बाढी र पहिरोमा फसेका तीनजनालाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको छ ।

नौगाड गाउँपालिका- २ सल्ला गाउँमा आएको बाढी र पहिरोमा परेर पाँचजनाको मृत्यु भएको छ भने सात अझै बेपत्ता छन् ।

सेनाको हेलिकोप्टर बाढी पहिरो प्रभवित क्षेत्रमा पुगेको थियो । गृह मन्त्रालयका अनुसार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट घटनास्थल पुगेको हेलिकोप्टरले उद्धार गरेको हो ।

हालसम्म तीन जना घाइतेलाई उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल खलंगा ल्याइएको प्रहरीले जनाएको छ ।

Nabintech