​​​​​खाना आज पकाउनै छ गतिलाे भान्सेहरू हाे उठ
हाम्रो  देश  बनाउनै छ  हँसिलाे  मान्छेहरू हाे उठ
आगाे बाल्नुछ ज्ञानकाे अब यहाँ भाेकाहरू हाे उठ
काटिन्छाै किन शीघ्र  व्यर्थ बलिका बाेकाहरू हाे उठ ।।

हाम्रो त्यो इतिहास भेद नगरी जान्नेहरू हाे उठ
नेपाली ममता विचार बलियो मान्नेहरू हाे उठ
फेर्नै पर्छ  मुहार तीव्र बलले  भाटाहरू हाे उठ
हिँड्नै पर्छ जगाउने प्रण गरी  बाटाहरू हाे उठ ।।

आफ्नाे मर्म बुझी विपन्न घरका छानाहरू हाे उठ
उक्साई सब  बन्धु बान्धव यहाँ गानाहरू हाे उठ
खाेज्ने हाे अधिकार लाै विकटका बागीहरू हाे उठ
जाेख्ने हाे  परिणाममा  समरका  त्यागीहरू हाे उठ ।।

हामी एक भनी समान थितिकाे सम्बन्ध गाँस्ने उठ
पीडा दुख्ख भुली खुला हृदयले सानन्द हाँस्ने उठ
उठ्नै  पर्छ  सुतेर   हुन्न  यसरी  सुर्ता  नमानी उठ
साझा हुन् अधिकार सम्झ अब यी बिर्ता नठानी उठ ।।

याेद्धा ए ! पछि पर्न हुन्न मनमा सङ्कल्प बाेकी उठ
नेपाली गरिमा अनन्त सुकिलाे आदर्श घाेकी  उठ
भाे अन्याय भनी विचार बलले भिड्नेहरू हाे उठ
गाथा  वैभवका  विभूति पथमा हिँड्नेहरू हाे उठ ।।

टुट्दै छन् परिवार आज  किन यी आधार जाेड्ने उठ
आफ्ना मूल्य हराउँदै  किन  गए  संस्कार  खाेज्ने उठ
हाम्रो  देश  हँसाउने  प्रण  गरी  विश्वास   बेर्ने  उठ
मर्दैनन्  सपना  भनी   युग बुझी  नेपाल फेर्ने उठ ।।