८ बैशाख २०८१, शनिबार
चाडपर्व नजिकिएसँगै रुपईडिहा बजारमा नेपालीको घुईंचो

कोहलपुर, नेपालगञ्ज भन्दा सस्तोमा सामान पाउने लालसामा नेपालीहरु सिमावर्ती बजार जाने गर्दछन


  • यदुराज मिश्र

  • २५ भाद्र २०७९, शनिबार १६:११

नेपालगञ्ज : हरेक वर्षझैँ यस पटक पनि चाडपर्व नजिकिएसँगै नेपालगञ्ज बजारमा खासै चहलपहल शुरु भएको छैन । तर, सीमापारि रूपईडिहा बजारमा भने किनमेल गर्ने नेपालीको घुइँचो लाग्न थालिसकेको छ ।

दसैँ र तिहार नजिकिएसँगै गत केही दिन यता सीमापारि गएर किनमेल गर्नेहरू बढेको पाइएको छ । रुपईडिहाका अधिकांश पसल अहिले नेपाली उपभोक्ताले भरिभराउ छन् । जताततै नेपाली उपभोक्ता नै देख्न सकिन्छ ।

सधैँ जसो नेपाली उपभोक्ताले भरिने रुपईडिहामा चाडपर्व आउने भन्दा केही समयअघिबाट त थामिनसक्नु भिड हुने गरेको सीमापारिका व्यवसायीहरूले बत्ताउँछन् ।

अहिले दैनिक सयौँको सङ्ख्यामा नेपाली उपभोक्ताहरू सामान खरिद गर्न आउने गरेको रुपईडिहाका व्यवसायी ओमकार वैश्यले बताए । उनले नेपालगञ्जबाट मात्र नभई कोहलपुर, राँझा, खजुरा, बर्दियाको बासगढी, भुरिगाँउ र दाङ तथा सुर्खेतसम्मबाट खरिदारीका लागि नेपाली उपभोक्ताहरू आइरहेको बताए ।

चाडपर्वका लागि किनमेल गर्न रुपईडिहा पुगेकी नेपालगञ्ज ११ की फिरदौस जहाँ खानसंग प्रतिक्रिया माग्दा उनले नेपालगञ्जभन्दा यहाँ धेरै सामान सस्तोमा पाइने भएकोले नै आएको बताइन् ।

रूपईडिहामा दैनिक नेपाली उपभोक्ताले कतिको मालसामान किनमेल गर्छन् भन्ने यकिन तथ्याङ्क नभएपनि अन्य समयमा दैनिक तीन करोड बढी र चाडपर्वको बेला दैनिक पाँच करोड बढीको कारोबार हुने गरेको नेपाली व्यापारी बत्ताउँछन् ।

सीमापारिको बजारमा भीड भएपनि नेपालगञ्जमा भने अझै खासै चहलपहल र व्यवसाय सुरु नभएको व्यवसायीले बताएका छन् । दसै नजिकै आउन लागेपनि अझै बजारमा धेरै ग्राहक नदेखिएको सदरलाइनका कपडा व्यवसायी केदार गुप्ताले बताए । सोही प्रकारको भनाई नगरका अधिकांश व्यवसायीको छ ।

उता, नेपालगन्ज उद्योग वाणिज्य सङ्घले भने भन्सारले राजस्व सङ्कलनमा कडाइ नगरेकोले नेपालगञ्जको व्यवसाय सुक्दै गएको जनाएको छ । सय रुपियाँ भन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने नियमलाई कडाइका साथ पालना गरे स्थानीय बजारको व्यापार बढ्ने नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुल वाहीद मन्सुरीले बताए । उनले सीमापारि जाने अधिकांशले राजस्व नतिरेर सामान ल्याउने गरेकोले नै उनीहरू उता जाने गरेको बताए ।

नेपालगञ्ज भन्सार कार्यालयले राजश्व सङ्कलनमा कमी आएको जनाएको छ । नेपालगञ्ज भन्सार कार्यालयका अधिकृत प्रवीण लिम्बुले गत आर्थिक वर्षमा लक्ष्यको ८८ प्रतिशत मात्र राजश्व सङ्कलन भएको जनाउँदै चालु आर्थिक वर्षको साउन महिनामा पनि ७५ प्रतिशत मात्र असुली भएको बताए । उनले सीमापारिबाट सामान ल्याउनेहरूलाई कडाइ गरेर बढी सामान भएमा राजश्व लिने गरेको बताए ।

सामान खरिद गर्दा नेपाली बजारमा सिमावर्ती बजार भन्दा ४ गुणा सम्म बढि लिने गरेको भुक्तभोगिहरु बताउछन । कोहलपुर, नेपालगञ्ज भन्दा सस्तोमा सामान पाउने लालसामा नेपालीहरु सिमावर्ती बजार जाने गर्दछन ।

 

Nabintech