१३ बैशाख २०८१, बिहीबार
अबको निर्वाचनले देशको भाग्य र भविष्य फैसला गर्छ : अध्यक्ष ओली

  • टाइम्स संवाददाता

  • २५ भाद्र २०७९, शनिबार १६:२१

विराटनगर :नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नियमित प्रक्रिया मात्र नभएको बताउनुभएको छ ।

विराटनगरमा आयोजित नेपाल बुद्धिजिवी परिषद् १ नम्बर प्रदेशको प्रथम प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर ४ को चुनाव निक्कै महत्वपूर्ण रहेको बताउनुभयो । लोकतन्त्रको सुन्दर पक्ष चुनाव भएको भन्दै उहाँले मंसिर ४ को चुनाव देशको भाग्य र भविष्यको फैसला गर्ने चुनाव भएको बताउनुभयो ।

चुनावबारे अनेक भ्रम फैलाइएकाे अध्यक्ष ओलीले बताउनुभयाे । अहिलेकाे गठबन्धन सरकार कठपुतली सरकार भएकाे समेत उहाँले बताउनुभयाे । गठबन्धन सरकार कस्ताे चलेकाे छ भन्ने आफूले व्याख्या गर्नै नपर्ने उहाँकाे भनाइ छ ।

अहिलेकाे गठबन्धन पदकाे किनबेचमा लागेकाे बताउनुभयाे । देशकाे अवस्था भयावह रहेकाे बताउनुभयाे । अहिलेकाे अधाेगतिलाई राेक्न नसके देश बर्बादीतिर जाने भन्दै अध्यक्ष ओलीले चिन्ता व्यक्त गर्नुभयाे ।

‘भयावह स्थितिमा देश छ। यदी हामीले यो अधोगतिलाई रोक्न सकेनौं भने देश बर्बाद हुन्छ। लोकतन्त्रमा निर्वाचनहरू भइरहन्छन्,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘मंसिर ४ गते हुने निर्वाचन आउँछ जान्छ जस्तो निर्वाचन होइन्। यो निर्वाचन देशको भाग्य फैसला गर्ने निर्वाचन हुन्छ।’

सत्ता गठबन्धनका नेताहरु जसरी पनि गठबन्धन जोगाउने र जे गरेपनि हुन्छ भनेजसरी हिँडेको उहाँले आरोप लगाउनु भयो । ‘अहिले जे गरेपनि गठबन्धन जोगाउने, गठबन्धनले जे पनि गर्न पाउने हुन थालेको छ। सबैतिर त्यही हुँदै गएको छ,’ ओलीले भन्नुभयो ।

गठबन्धन सरकारका कारण देशमा महंगी बढेकाे, विश्वविद्यालयमा लगातारकाे तालाबन्दीले विद्यार्थीकाे भविष्य अन्याैलमा परेकाे समेत उहाँले बताउनुभयाे । गुरुलाई बाटाे छेकेर घाइते बनाउने गुण्डाहरुलाई कांग्रेसकाे लेटरप्याडमा मुद्दा नहाल्नु भनेर उर्दी जारी गर्ने काम भएकाे भन्दै उहाँले कडा आपत्ति जनाउनुभयाे ।  गृह मन्त्रीकाे संरक्षणमा त्रिविमा तालाबन्दी लगायत गतिविधि भएका बताउनुभयाे ।

अर्थमन्त्रीकाे संरक्षणमा अर्थतन्त्र ध्वस्त भइरहेकाे बताउँदै अध्यक्ष ओलीले कानुनमन्त्रीकाे संरक्षणमा कानुनीराज ध्वस्त बनाइदिने काम भइरहेकाे बताउनुभयाे । यी तमाम क्रियाकलाप राेक्नका लागि मंसिर ४ काे चुनावले सही फैसला लिनुपर्ने बताउनुभयाे ।

सही फैसला भनेकाे शान्ति सुव्यवस्था र स्थिरताकाे पक्षमा रहेकाे सरकार बनाउनुपर्ने र त्याे भनेकाे एमालेकाे सरकार भएकाे अध्यक्ष ओलीले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे, ‘कांग्रेस बिरामीले नाकमा अक्सिजन लगाएको जसरी चलेको छ। प्रचण्ड नामको अक्सिजन लगाएको छ। प्रचण्डलाई कांग्रेसको पछि लाग्नुबाहेक अरू विकल्प छैन। माधव नेपालको चर्चा गरेर धेरै महत्व दिनु पर्दैन यो चुनावसम्म उहाँले नक्कली सिगौँरी खेल्दै हुनुहुन्छ। अलिअलि भूँइ खोस्रिनुहुन्छ। चुनाव भएपछि सबै साफ हुन्छ।’

Nabintech