१४ बैशाख २०८१, शुक्रबार
डेङ्गु रोगको उच्च जोखिममा बाँके, बिरामीको चाप बढेपछि कोभिडका लागि छुट्याएको वार्डमा उपचार

भेरी अस्पतालमा बिरामी बढेर राख्ने ठाउँ छैन, ठाउँ नभएपछि कुरुवाका लागि बनाइएको बेन्च, कुर्सीमा बिरामी बसेका छन्


  • रासस

  • २५ भाद्र २०७९, शनिबार १७:०१

राँझा : बाँके जिल्ला डेङ्गु रोगको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीले बताएका छन्। भारतसँग सीमा जोडिएको नेपालगञ्जमा पछिल्लो समय डेङ्गुका रोगी भेटिने क्रम बढ्दै गएको पाइएको छ।

बाँकेमा अहिलेसम्म ११ जनामा सो रोगको सङ्क्रमण देखिएको छ। तीमध्ये पाँच जना नेपालगञ्ज उपमहानगरपालिका, चार जना कोहलपुर र एक जना बैंजनाथ गाउँपालिकाका रहेका छन्।

भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले पछिल्लो १८ वर्षदेखि नेपालमा डेङ्गु रोगको जोखिममा रहेको बताए। यसको नियन्त्रण र रोकथाम भनेकै व्यवस्थित सहरीकरण र लामखुट्टे नष्ट गर्ने कार्य भएको उल्लेख गर्दै उनले डेङ्गु रोगको आशङ्कामा अनावश्यक घरेलु उपचारमा नलाग्न सर्वसाधारणलाई आग्रह गरे।

भेरी अस्पताल नेपालगञ्जले बिरामीको चाप बढेपछि कोभिडका लागि छुट्याएको वार्डमा डेङ्गुलगायतका बिरामी राखेको छ। कोभिडको भन्दा डेङ्गुलगायतका बिरामी बढेपछि उक्त वार्डमा बिरामीलाई राखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा बद्री चापागाईँले जानकारी दिए।

उनका अनुसार भेरी अस्पतालमा बिरामी बढेर राख्ने ठाउँ छैन। ठाउँ नभएपछि कुरुवाका लागि बनाइएको बेन्च, कुर्सीमा बिरामी बसेका छन्।

भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा पाण्डेका अनुसार डेङ्गुका ९० प्रतिशत बिरामीमा लक्षण देखिँदैन। लक्षण देखिए पनि ९९ प्रतिशत गम्भीर हुँदैनन्।

एक प्रतिशत बिरामी गम्भीर हुन्छन्। त्यही एक प्रतिशतमध्येको ५० प्रतिशत उपचार नपाउँदा मृत्यु हुन्छ।

अस्पतालमा डेङ्गुलगायतका बिरामी बढेपछि सिफारिस गर्ने क्रम बढेको छ। एकै दिन अस्पतालमा पुगेर दर्जन बढी फर्किरहेका छन्। पश्चिम नेपालको बिरामी प्रेषण केन्द्रका रुपमा रहेको भेरी अस्पतालमा डेङ्गु रोगबाट दुई जनाको मृत्यु भइसकेको छ।

डेङ्गु रोग रोकथाम र नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने र आम मानिसलाई सचेतना जगाउने अभियानलाई तीव्र पारिएको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग स्रोत व्यक्ति दुर्गा गौतमले बताए। डेङ्गुका बिरामी बढ्दै गएपछि नेपालगञ्ज उपमहानगरपालिकाले नियन्त्रण अभियान तीव्र पारेको उपमहानगरका उपप्रमुख कमरुद्दिन राईले बताए।

डेङ्गु रोग रोकथाम तथा नियन्त्रणका विषयमा तत्काल कदम उठाउन सम्बद्ध सरोकारवाला निकायको पनि गम्भीर ध्यानाकर्षण गराइएको उनले बताए।

Nabintech