१४ बैशाख २०८१, शुक्रबार
चिनियाँ जनकंग्रेसका अध्यक्ष ली काठमाडौंमा

  • टाइम्स संवाददाता

  • २७ भाद्र २०७९, सोमबार १६:२९

काठमाडौं : चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चाङ्सु काठमाडौं आइपुगेका छन्। उनलाई सभामुख अग्निप्रसाद सापकोटालगायतको टोलीले विमानस्थल पुगेर स्वागत गरेको हो। सभामुख सापकोटाको निमन्त्रणामा नेपाल भ्रमणमा आएका लीले आजै सभामुख सापकोटासँग भेटवार्ता गर्न कार्यसूची छ।

वार्ताका क्रममा दुई देशको संसदीय अनुभव आदानप्रदान गर्नुका साथै नेपालको न्यायप्रणाली सबल बनाउन चीन सरकारले आगामी दिनमा पुर्‍याउन सक्ने सहयोग र सहकार्यका सम्बन्धमा बृहत् छलफल हुनेछ।  सभामुख सापकोटाले नेता ली तथा चिनिँया प्रतिनिधिमण्डलको सम्मानमा सोमबार साँझ रात्रिभोज आयोजना गर्नेछन्।  मंगलबार चिनियाँ नेता लीले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन्। परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेट तय भएको छ।

लीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन्। पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि छुट्टाछुट्टै भेटवार्ता तय भएको छ।

नेपालमा रहँदा उनले चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा भएको सहमतिअनुसार अघि बढेका कार्यक्रमको प्रगतिको अनुभव आदानप्रदान गर्नुका साथै बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजना तथा अन्य विकास साझेदारीका बारेमा छलफल गर्नेछन्।

Nabintech