६ जेष्ठ २०८१, आईतवार
जीर्ण बन्दै सल्यानका सडक, जोखिमपूर्ण यात्रा गर्दै यात्रु

पहाडी भूभाग र साँघुरो सडक सास्ती भोग्दै आएका स्थानीयले भएको सडक पनि जीर्ण बन्दै जाँदा थप सास्ती भोग्दै आइरहेका छन


  • टाइम्स संवाददाता

  • २८ भाद्र २०७९, मंगलवार १३:२४

सल्यान : सल्यानका सडक दिनप्रति दिन जीर्ण बन्दै गएका छन्। तुलसीपुरदेखि रुकुमसम्मको राप्ती राजमार्ग पूरै जीर्ण छ। अधिकांश सडकमा भएको ओटासिल उप्किएको छ। सडकमा ठूलठूला खाल्डा परेका छन्। मुख्य सडकसँगै प्रदेश राजधानी जोड्ने र सदरमुकाम जोड्ने सडकको अवस्था पनि दयनीय छ। सडकको अवस्था जीर्ण बन्दै गएपछि सडक दुर्घटनाको जोखिम पनि बढ्दो छ।

पहाडी भूभाग र साँघुरो सडक सास्ती भोग्दै आएका स्थानीयले भएको सडक पनि जीर्ण बन्दै जाँदा थप सास्ती भोग्दै आइरहेका छन्। कच्ची सडक र आजभोलि वर्षातका कारण ठाउँ ठाउँमा पहिरो जाँदा गाडीमा हिँडडुल गर्न डर लाग्ने गरेको स्थानीय देवीलाल वलीले बताए। सडकको स्तरोन्नति र सरकारी निकायले समयमै मर्मत सम्भार नगर्दा सडक बिग्रिदै गएको उनको भनाइ छ।

जिल्लाभित्र पर्ने सडकहरूको निर्माण, मर्मत सम्भार असोज १ गतेदेखि नै थालनी गर्न सडक डिभिजन कार्यालय दाङ, पूर्वाधार कार्यालय सल्यान र निर्माण व्यवसायीलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले बताए।

चाडपर्व नजिकै आएकाले सडकको निर्माण, मर्मत तथा स्तरोन्नतिको काम छिटो छरिता र गुणस्तरीय गरी यातायात सञ्चालनमा सहजता ल्याउन आग्रह गरिएको उनको भनाइ छ। अधिकांश सडकको काम अलपत्र अवस्थामा रहेकाले निर्माण व्यवसायीले कामको जिम्मा लगिसकेपछि समयमै सम्पन्न गर्नुपर्ने बताए।

सडक मर्मतका लागि मात्र राप्ती राजमार्गमा वर्षेनि ५० करोड खर्च भइरहेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ। यो वर्ष पनि मर्मतका लागि ४० करोड बजेट विनियोजन गरिएको सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवालले बताए।

ठेकेदारले काममा ढिलाइ गर्दा सडक भने जस्तो सुधार हुन नसकेको जैसवालको भनाइ छ। कार्यालयले जति ताकेता गर्दा र कारबाही प्रक्रिया अगाडि बढाउँदा पनि ठेकेदारहरूले काम नगरेको उनले दाबी गरे। अब कार्यालयले तत्काल दशैँअघि सडकका खाल्डाखुल्डी पुर्ने र पहिरो पन्छाउने काम गर्ने उनले बताए। अन्य ठेक्का प्रक्रिया लागिसकेको ठाउँको पनि मौसम खुलेपछि तत्काल काम सुरु गर्ने सडक डिभिजन कार्यालय दाङले जनाएको छ।

निर्माण व्यवसायीले भने निर्माण सामग्री महँगो भएका कारण र वर्षातका कारण सडकको काम गर्न नसकिएको जिकिर गरेका छन्।

Nabintech