• १९ आश्विन २०७९, बुधबार
‘हुतीहाराहरू’ को ‘ठगबन्धन’

किन निरीह बन्दै छ नेपाली काङ्ग्रेस? अस्तित्वको सङ्कटमा माओवादी र समाजवादी


  • हरि ज्ञवाली

  • २९ भाद्र २०७९, बुधबार १०:१०

सत्ता पक्षीय पाँच दलहरू आगामी मङ्सिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रतिपक्षी पार्टी नेकपा एमालेविरुद्ध पुनः गठबन्धन गरेर चुनाव लड्दै छन् । चुनावकै लागि पाँच दलहरू यतिखेर सिटको बाँडफाँडमा एक–आपसमा रस्साकस्सी गरिरहेका छन् ।

प्रतिपक्षी पार्टीहरूले सत्ता पक्षीय पार्टीका विरुद्धमा गठबन्धन गर्ने प्रचलन अन्तर्राष्ट्रिय स्तरमा पनि सामान्य र स्वाभाविक मानिन्छ । तर, हामीकहाँ भने त्यसको ठिक विपरीत सत्ताधारी पार्टीहरूले प्रतिपक्षी पार्टीका विरुद्धमा गठबन्धन गरेर चुनाव लड्ने अस्वाभाविक र अनौठो संस्कार देखाउँदै छन् । यो संस्कार र प्रवृत्ति त्यति युक्तिसंगत, न्यायपूर्ण र उचित मान्न सकिँदैन ।

राजनीतिक आदर्श, विचार र सिद्धान्तका बीचमा कतै मेल नखाने र नमिल्ने पाँच पार्टीहरूको यो गठबन्धन न बहुदलीय राजनीतिक मूल्य मान्यता र पद्धतिअनुरूप देखिन्छ न त राष्ट्र र जनताको माग अनि आवश्यकताअनुरूप नै । बरु यो असैद्धान्तिक र अपवित्र गठबन्धन संविधानको मूल मर्म र बहुदलीय राजनीतिक पद्धतिकै विरुद्धमा गठन भएको देखिन्छ । यो गठबन्धनका कारण देशमा सुशासनयुक्त विकास र सामाजिक न्याय हराउँदै गएको छ भने अर्कोतिर गठबन्धन बचाउने बहानामा राज्यका महत्त्वपूर्ण र प्रमुख अङ्गलाई समेत यसले खलबलाएको छ । मुलुकको दूरगामी भविष्यका लागि यो गठबन्धन हानिकारक र खतरनाक प्रमाणित हुँदै छ । विवादित नागरिकता विधेयक, एमसीसी अनुमोदन, एसपीपीको चलखेल लगायतका तमाम घटनाक्रमहरूले यही कुरा प्रमाणित गर्छ ।

यतिखेर सत्ता पक्षीय पार्टीहरू यतिसम्म सशङ्कित, भयभीत र त्रस्त देखिन्छन् कि एक्ला एक्लै चुनावमा गए प्रतिपक्षी पार्टी नेकपा एमालेसँग पराजित भइने मानसिकता छ । एमालेसँग एक्ला एक्लै चुनावमा जान डराइरहेका ती दलहरू न आफ्नो पार्टीगत जनाधारप्रति ढुक्क हुन सकेका छन् न त एक्ला एक्लै चुनाव जित्ने हिम्मत र हुती नै ।

बहुदलीय राज्य व्यवस्थामा राजनीतिक दलहरू नै मुलुकका आधारभूत संवाहक हुन् । राजनीतिक दलबीचको स्वस्थ प्रतिस्पर्धाविना व्यावहारिक र समुन्नत लोकतान्त्रिक व्यवस्थाको कल्पना समेत गर्न सकिन्न । तर, सत्ता पक्षीय पाँच दलहरू भने फगत सत्ता स्वार्थ र आफ्नो अस्तित्व रक्षाका लागि पाँच दलीय गठबन्धनको सहारा लिँदै सीमित नेताहरूले चुनाव जित्ने कसरतमा लागेका छन् । देशमा विकसित भएका नयाँ राजनीतिक चिन्तन र सोचका कारण पनि आफ्नो अस्तित्व समाप्त हुने सन्त्रासमा पिरोलिएकोले उनीहरू एक आपसको बैसाखीमा भर पर्न खोज्दै छन् । यो सकारात्मक र उचित कदम होइन ।

राजनीतिक गठबन्धन भनेको राजनीतिक दल वा शक्तिहरूबीच विशिष्ट राजनीतिक लक्ष्यका निमित्त संयुक्त प्रयासमा गरिने मञ्च हो । तर प्रमुख प्रतिपक्षी दललाई एक्ल्याउनकै लागि सरकारमा रहेका दलहरूको स्वार्थपूर्ण र औचित्यहीन सत्ता–समीकरणले विचार र आस्थाका आधारमा दलीय प्रतिस्पर्धा गर्ने लोकतन्त्रको मर्म र उद्देश्यसमेत समाप्त पार्न लागिरहेको अनुभूति यतिखेर जनमानसमा हुँदै छ । यो अत्यन्त चिन्ताको विषय हो ।

किन निरीह बन्दै छ नेपाली काङ्ग्रेस?
​​​​​​​लोकतन्त्रको पर्याय मानिने नेपाली काङ्ग्रेस नेपालको पुरानो पार्टी हो । २००७ सालको क्रान्ति र २०४६ सालको जनआन्दोलनको सफल नेतृत्व गरेको नेपाली काङ्ग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा सबैभन्दा महत्त्वपूर्ण र अग्रणी भूमिका खेलेको छ ।

त्यसो त नेपाली काङ्ग्रेससँग गर्विलो इतिहास र सुरक्षित वर्तमान सबै कुरा छ । बिपी कोइरालाको सिद्धान्त र आदर्श नेपाली काङ्ग्रेससँग छँदै छ । लौहपुरूष गणेशमानको अठोट र समर्पण पनि छ । सादगी जीवनका कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाको त्याग र तपस्या पनि नेपाली काङ्ग्रेससँगै छ । अनि गिरिजाप्रसाद कोइरालाको स्पष्ट अडान र दृष्टिकोण पनि छ । तर विडम्बना, नेपाली काङ्ग्रेस आज यति निरीह बन्दै छ कि अरू कसैको बैसाखी टेकेर उभिन थालेको छ ।

नेपाली काङ्ग्रेसको इतिहास त्यसै पनि गर्विलो छ । प्रजातन्त्र प्राप्तिपछि भएका निर्वाचनदेखि वर्तमान सम्मका संसदीय निर्वाचनहरूमा काँग्रेस पार्टी एक्लैले धेरै पटक बहुमत ल्याएको छ । इतिहासको विरासत बोकेरै नेपाली काङ्ग्रेसले हालसम्म ३ पटक संसदीय र दुई पटक स्थानीय निर्वाचनमा एक्लै स्पष्ट बहुमत प्राप्त गरेको छ । २०४६ सालपछिको ३३ वर्षमा लगभग १७ वर्षसम्म सरकारको नेतृत्व पनि गरेको छ ।  इतिहासको यो गर्विलो यथार्थका बीचमा एक्लै चुनाव लडेर सरकार चलाइरहेको नेपाली काङ्ग्रेस आज  किन अरूको बैसाखी टेक्ने अवस्थामा पुग्दै छ रु अचम्म लाग्छ । आज किन काँग्रेस एक्लै चुनाव लड्नै नसक्ने अवस्थामा पुगेको छ रु काङ्ग्रेसको हिम्मत र आँट किन र कसरी हरायो रु किन काङ्ग्रेस आज यति निरीह र कमजोर बनिरहेको छ रु रहस्यमय विषय र आश्चर्यजनक प्रश्न यही हो ।

विचार र सिद्धान्तका बेमेलबीच अवसरवादी गठबन्धन 
यतिखेर पाँच दलीय गठबन्धनका बीचमा कुनै सैद्धान्तिक र वैचारिक समानता देखिँदैन । उनीहरूबीच तमाम अन्तर्विरोधहरू छन् । वर्ग शत्रु र मित्र सम्बन्धी  सैद्धान्तिक दृष्टिकोण पनि नितान्त फरक छन् । सैद्धान्तिक धरातल, स्कुलिङ, गन्तव्य र शैलीगत व्यवहारमा उनीहरूबीच ठुलो अन्तर छ । राजनीतिक आदर्श र सैद्धान्तिक मतभेदका कारण हिजो एक–अर्कालाई सिद्ध्याउनतिर लागेकाहरू आज फगत सत्ता स्वार्थका लागि एक भएका छन् । यो उनीहरूको राजनीतिक अवसरवादको चरम नमुना हो ।

गठबन्धनका मुख्य घटक नेपाली काङ्ग्रेस र माओवादी केन्द्रका बीचमा कतै पनि विचार र सिद्धान्तको मेल पाइँदैन । दुवै पार्टीका आदर्श,नीति सिद्धान्त र गन्तव्यबीच आकाश जमिनको फरक छ । नेपाली समाजको सङ्घर्ष, क्रान्ति, रूपान्तरणको अभियान र राष्ट्रका मूल समस्याका बारेमा दुवै पार्टीका दस्ताबेजमा भिन्नभिन्न अवधारणा छन् । पार्टीको गन्तव्यसमेत फरक फरक छन्  । वर्ग शत्रुहरूको सफाया गर्ने नीति र विद्रोहीहरूको टाउकाको मूल्य तोक्ने पार्टीहरूको यो क्षणिक मिलन र गठबन्धन जनतालाई ठग्ने र सत्तामा रमाउने चलखेल बाहेक अरू केही होइन भन्न अब हिचकिचाउनुपर्दैन  । नितान्त सत्ता स्वार्थको यो अपवित्र मिलनले ती पार्टीहरूको राजनीतिक सैद्धान्तिक पतन, नैतिकहीनता र अवसरवादको चरम नमुनालाई स्पष्ट पार्दछ ।

अस्तित्वको सङ्कटमा माओवादी र समाजवादी
यतिखेर नेकपा -माओवादी) केन्द्र र एकीकृत समाजवादी दुवै दलहरू अस्तित्वको सङ्कटमा छन् । सिद्धान्त, नीति र कार्यक्रमका सवालमा उनीहरू अझै स्पष्ट देखिन सकेका छैनन् । विषयगत सवाल र सङ्गठनात्मक संरचना निर्माणमा अत्यन्त कमजोर र  अन्योलग्रस्त देखिन्छन् । पार्टीको जनाधार खस्किँदै गएका कारण माओवादी अध्यक्ष प्रचण्डलाई आफ्नो शाख जोगाउन हम्मे हम्मे भएको छ भने उता जनाधार नै नभएका माधव नेपालले एमाले विभाजन गरेको औचित्य अझै पुष्टि गर्न सकेका छैनन्  । यसर्थ उनीहरूले पार्टीको आदर्श, नीति, सिद्धान्त र व्यवहारलाई तिलाञ्जली दिएर काङ्ग्रेसकै फेरो समाएरै भए पनि आआफ्नो अस्तित्व धान्नु परेको छ ।

संयोग यस्तो बनेको छ कि आज महाकाली सन्धि विरोधी माओवादी र सन्धि पक्षधर शेरबहादुर देउवा र माधव नेपाल सत्तामा छन् । तर दुर्भाग्य, यति बेला न माओवादीले महाकाली सन्धिमा देखेको राष्ट्र घात सच्चिएको छ, न त देउवाले सन्धिमा देखेको राष्ट्र हित नै कार्यान्वयनमा आएको छ । बरु गठबन्धन टिकाउनकै लागि एमसीसी, एपीपी र नागरिकता विधेयकमार्फत राष्ट्र घात गर्न पछि परेका छैनन् उनीहरू ।

गठबन्धनका कारण आज जनताले वर्षौँ लडेर ल्याएको प्रजातन्त्र हुँदै लोकतन्त्र र गणतन्त्रमा पनि आफ्नो स्वतन्त्र मत हाल्न नपाउने वाध्यात्मक अवस्था उनीहरू सिर्जना गर्दै छन् । यो एक किसिमको राजनीतिक अपराध हो । गठबन्धनको उद्देश्य आफूले जित्नेभन्दा पनि प्रतिपक्षलाई कसरी हराउने भन्नेमै केन्द्रित देखिन्छ । गठबन्धनका नाममा आफ्नो विचार, सिद्धान्त र नीति नमिल्ने पार्टीका उम्मेदवारलाई भोट हाल्न उर्दी जारी गर्नु भनेको एकातिर आफ्ना कार्यकर्तासँगको राजनीतिक धोका र बेइमानी हो भने अर्कातिर आफूहरू सत्तामा रमाउने फगत षडयन्त्र र दुष्प्रयास मात्र ।

गठबन्धन: राहत कि आहत ?
यतिखेरको गठबन्धन न देश र जनताको हितमा देखिन्छ न त राष्ट्रको आवश्यकता र माग नै । स्वार्थहरूमा अडिएको औचित्यहीन वर्तमान सत्ता–समीकरणबाट मुलुकलाई अनावश्यक बोझ भएको घटनाक्रमहरूले देखाएका  छन् । फरक विचार र सिद्धान्त बोकेका गठबन्धनका दलहरूले आ–आफ्नो विशुद्ध हित र नेता विशेषको स्वार्थबाहेक अन्य केही सोचेको देखिँदैन । आफ्नै एजेन्डा र कार्यक्रम लिएर जनतामा जाने भन्दा पनि कसरी गठजोड गरी फगत चुनाव जित्ने एक मात्र ध्येयमा उनीहरू लागेको देखिन्छ । यसर्थ पाँच दलीय गठबन्धन मुलुकलाई राहत दिनेभन्दा पनि आहत दिने संयन्त्र बन्न लागेको छ ।

त्यसो त काङ्ग्रेसबाहेकका अन्य चार दललाई आफ्नो दलीय अस्तित्वका लागि गठबन्धनका नाममा एक अर्कामा टाँसिनुपर्ने एक किसिमको बाध्यता नै छ । नत्र उनीहरूको राजनीतिक र दलीय अस्तित्व धरापमा पर्ने निश्चितजस्तै छ ।

सैद्धान्तिक धरातल नभएको वर्तमान गठबन्धनबाट देशको दूरगामी र सुन्दर भविष्यको कल्पनासमेत गर्न सकिन्न । सत्ता गठबन्धनमार्फत राज्य दोहन गर्ने उद्देश्य उनीहरूले राखेको देखिन्छ । फगत सत्ता स्वार्थ र राजनीतिक–व्यावसायिक साझेदारीका लागि गरिएको यो गठबन्धन अन्ततः मुलुक र जनताका लागि घातक प्रमाणित हुँदै छ ।

नाम गठबन्धन, काम ठगबन्धन
पूर्व प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेको विरोध गर्दै त्यसैको बहानामा बनेको गठबन्धनले हालसम्म कुनै सुधार र अग्रगामी कार्य गरेको उदाहरण पाइँदैन । देश र जनताले भोग्नुपरेका तमाम समस्यामा गठबन्धनको कुनै चासो छैन । देशमा व्याप्त भ्रष्टाचार, महँगी, कालोबजारी, बेथिति र कुशासनप्रति गठबन्धनको न कुनै सरोकार छ न त कुनै चिन्तन नै । फगत आआफ्नो अस्तित्व बचाउन उनीहरूले राष्ट्रियतामाथि आँच आउने  हर्कतसमेत गर्न पछि परेका छैनन् । विचार र क्रियाकलाप हेर्दा एक्ला एक्लै चुनाव लड्न नसक्ने ‘हुतीहाराहरू’ को यो पाँच दलीय मोर्चा गठबन्धन नभएर फगत ‘ठगबन्धन’ नै हो कि भन्ने आशङ्का उब्जिएको छ ।

Nabintech