७ बैशाख २०८१, शुक्रबार
जापनिज इन्सेफ्लाइटिसका कारण वृद्धाको मृत्यु

मानिसबाट मानिसमा यो रोग सर्दैन, सुङ्गुर प्रजाति र हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा यो रोग


  • टाइम्स संवाददाता

  • ३० भाद्र २०७९, बिहीबार १२:५४

चितवन:  जिल्लामा जापनिज इन्सेफ्लाइटिसका कारण एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ चैनपुरकी ६० वर्षीया वृद्धा हुनुहुन्छ । उपचार गरेर घर फर्किए पछि उहाँको मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँका अनुसार हालसम्म जिल्लामा जापनिज इन्सेफ्लाइटिस पुष्टि भएका नौ जनामध्ये एक जनाको मृत्यु भएको छ ।

मृतक भदौ ६ गते टाउको दुख्ने र ज्वरो आउने समस्या लिएर उपचारका लागि भरतपुर आउनुभएको थियो । जिल्लामा जापानिज इन्सेफ्लाइटिसको महामारी देखिएको र  २२ जना शङ्कास्पदको नमूना परीक्षणका क्रममा नौ जनामा सङ्क्रमण पुष्टि भएको थियो । कार्यालय प्रमुख चापागाईँका अनुसार पुष्टि भएकामध्ये माडीकै अर्का एक ७५ वर्षीया महिला सम्पर्कमा नआउनुभएकाले उहाँको  खोजी भइरहेको छ । राप्तीका ३५ वर्षीया महिला उपचारपछि घर फर्किनुभएको न् । उहाँको स्मरण शक्ति कमजोर देखिएको छ । कालिका नगरपालिकाका एक जना ३२ वर्षीय पुरुष अस्पतालबाट निको भएर घर फर्किनुभएको र उहाँको अवस्था सामान्य रहेको  प्रमुख चापागाईँले जानकारी दिनुभयो । रत्ननगरका २९ वर्षका एक महिलाको भरतपुर अस्पतालको सघन उपचारकक्षमा उपचार भइरहेको छ । उहाँलाई भेन्टिलेटरमा राखिएको छ । भरतपुर महानगरभित्रका चार जनामध्ये वडा नं २२ का ५२ वर्षीय पुरुषमा अस्वाभाविक गतिविधि र बिर्सने समस्या रहेको छ ।

सोही वडाका ५२ वर्षीया एक महिला, वडा नं १९ का ७० वर्षका पुरुष र वडा नं २० का ६४ वर्षका पुरुषमा जापनिज इन्सेफ्लाइटिसको पुष्टि भए पनि ती बिरामीलाई सम्पर्कमा ल्याउन नसकिएकाले उहाँहरुको  खोजी भइरहेको छ । रगतका नमूना सङ्कलन गर्दा ठेगाना प्रष्ट नलेखिएकाले बिरामीको खोजीमा कठिनाइ भएको हो ।

उक्त कार्यालयका अनुसार परीक्षण गरिएका भरतपुर महानगरपालिकाका १२ जनामध्ये  चार, माडीमा पाँच जनामध्ये   दुई, राप्तीमा दुईजनामध्ये  एक, कालिका नगरपालिकामा एक रत्ननगरमा दुई जनामध्ये एकमा सङ्क्रमण देखिएको हो ।

साउन १५ गतेदेखि यस्ता  बिरामी देखिन थालेकामा भदौ १८ गते यो सङ्ख्या बढेर नौ पुगेको थियो । यहाँ परीक्षण गर्दा नमूनामा शङ्का लागेकाले काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरिन्छ । जिल्लामा यो रोगले महामारीको रुप लिएको सम्भवतः पहिलो भएको कार्यालय प्रमुख चापागाईँले बताउनुभयो । हाल यो रोग देखिएका चार पुरुष र पाँच महिला छन् । उनीहरु २९ वर्ष उमेरदेखि ७५ वर्षसम्मका छन् ।

सन् २०२१  र  २०२० मा एक एक जनामा यो रोग देखिएकामा सन् २०१९ मा जिल्लामा यो सङ्ख्या शून्य रहेको थियो । सन् २०१८ मा एक जनामा सङ्क्रमण देखिएको थियो । उहाँले भन्नुभयो, “सम्भवतः जिल्लामा यसरी महामारीको रूपमा बढेको पहिलो हो ।” सन् २०१८ मा देखिएका बिरामी १५ वर्षमुनिका थिए  भने त्यसपछिका सबै १५ वर्षभन्दा माथिका हुन् । विश्व स्वास्थ्य सङ्गठनले एउटा जापानिज इन्सेफ्लाइटिसको बिरामी देखिँदै गर्दा तीन सय बिरामी लुकेको अवस्थामा हुने प्रक्षेपण गरेको हुन्छ । यसलाई हेर्दा चितवनमा दुई हजार सात सय जनामा सङ्क्रमण हुनसक्ने भन्दै सतर्कता अपनाइएको कार्यालय प्रमुख चापागाईँको भनाइ थियो ।

यो रोग अप्रिल/मे देखि सेप्टेम्बर÷अक्टुबरसम्म देखिने गर्दछ ।  भरतपुर अस्पतालका प्रवक्ता फिजिसयन डा गोविन्द कँडेलले सुङ्गुर प्रजाति र हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा यो रोग सर्ने बताउनुभयो  । मानिसबाट मानिसमा यो रोग सर्दैन ।  अहिले जिल्लामा ग्रामीण क्षेत्रमा यो रोग बढी देखिएको छ । यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउने, बेसुरको हुने, कहिलेकाहीँ बेहोस हुने, छारे रोगको झै शरीरमा कम्पन आउने उहाँले जानकारी दिनुभयो ।

Nabintech