१३ बैशाख २०८१, बिहीबार
धार्मिक मुद्दाले जकडिएको नेपालगञ्ज: पहेंलो वस्त्रभित्र निर्वाचन जित्ने अस्त्र

  • टाइम्स संवाददाता

  • २ आश्विन २०७९, आईतवार ०६:११

बाँके: सद्भावको सहर भनेर चिनिने बाँकेको नेपालगञ्जमा जब निर्वाचन आउँछ, त्यसपछि धार्मिक तथा जातीय मुद्दा जोडले उठ्ने गर्छ। आशन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको माहोल तातिँदै गर्दा बाँके क्षेत्र नम्बर २ मा पर्ने पश्चिम नेपालकै व्यापारिक केन्द्र नेपालगञ्जमा फेरि धार्मिक तथा जातीय मुद्दा उठेको छ। धार्मिक मुद्दा ब्युँताएर उम्मेदवारहरु मत आफ्नो पक्षमा पार्ने योजनामा छन्।

विगतमा केही पटक धार्मिक दंगा भोगिसकेको नेपालगञ्जले धार्मिक असहिष्णुताको बिउ सुशुष्त अवस्थामा लुकाएर राखेको सहरका अगुवाहरु अनुमान गर्छन्। त्यसका लागि निर्वाचनको बेला नेता तथा उम्मेदवारले गर्ने भाषण, प्रचार शैली र उठाउने एजेण्डाले नै जोखिम निम्त्याउने गरेको विश्लेषण हुँदै आएको छ। नेपालगञ्जमा मधेशी, मुस्लिम, थारु र पहाडी समुदायको मिश्रित बसोबास छ।

नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको परम्परागत निर्वाचन क्षेत्रको रुपमा रहेको नेपालगञ्ज अहिले आगामी निर्वाचनका लागि सर्वत्र चासोको क्षेत्र बनेको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा मतदातालाई आकर्षित गर्न उम्मेदवार तथा आका‌क्षीहरुले धार्मिक मुद्दा चर्को रुपमा उठाउन थालेका छन्।

मन्त्री मोहम्मदको काँधमा गेरुवा वस्त्र

बहालवाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले टिकटको बन्दोबस्त नहुँदै यो क्षेत्रमा केही महिना अघिदेखि नै निर्वाचनको माहोल बनाउँदै आएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवलशमशेर राणाले मेयर बनेर शासन गरेको क्षेत्र हो यो।

मोहम्मद इस्तियाक राई मस्जिदमा पुगेर नमाज मात्र पढ्दैनन्, उनी नेपालगन्जको बागेश्वरी मन्दिरमा पुगेर माताको नाममा पूजा पनि गर्छन्। भजन गाउँछन् र गेरुवा रंगको वस्त्र लगाएर हिन्दूत्वको वकालत गर्न पछि पर्दैनन्। हिन्दू धर्मावलम्बीहरुसँग बसेर प्रायस् दसैं र तिहारमा टीका लगाउने र रमाउने इस्तियाकले केही समयअघि बागेश्वरी मन्दिरमा पुगेर गेरुवा रंगको वस्त्र लगाए। मन्दिरका मूल महन्थ चन्दननाथ योगीसँग फोटो खिचाए। त्यो फोटो हेर्नेहरुले मतदाताको मत तान्न गरिएको क्रियाकलापको रुपमा टिप्पणी गरे।

यसअघि मन्त्री राईले नेपालगन्जका मन्दिरहरुको स्तरोन्नति र मर्मतका लागि सांसद विकास कोषको रकम सहयोग गरेका छन्। बाँकेलाई विकासमा समृद्ध बनाउने प्रयासमा लागेको भन्दै उनले विभिन्न मन्दिरको स्तरोन्नतिका लागि कार्यक्रम बनाउने बताएका छन्। भेरी अस्पतालदेखि धार्मिकस्थलका भौतिक संरचनाहरु निमार्णका लागि सहयोग गरेको कुरा चुनावी कार्यक्रममा मन्त्री राईले दोहोर्याउँदै आएका छन्। मुस्लिम समुदायका राई पहेंलो वस्त्र सहित चुनावी कार्यक्रममा देखिने गरेका छन्।

आशन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको माहोल तातिँदै गर्दा बाँके क्षेत्र नम्बर २ मा पर्ने पश्चिम नेपालकै व्यापारिक केन्द्र नेपालगञ्जमा फेरि धार्मिक तथा जातीय मुद्दा उठेको छ। धार्मिक मुद्दा ब्युँताएर उम्मेदवारहरु मत आफ्नो पक्षमा पार्ने योजनामा छन्।
राजनीतिको नाममा धर्म र साम्प्रदायिकता भड्काउन उद्दत राजनीतिक दल तथा नेताहरूलाई जनताको मन जित्नका लागि विकास र समृद्धिको राजनीति गर्न सुझाव समेत दिने गरेका छन्। ‘अब धर्म र साम्प्रदायिकताको राजनीति छोड्नुस्। विकास र समृद्धिको राजनीति गर्नुस् र जनताको मन जित्नुस्,’ स्थानीय अगुवाहरुको सुझाव छ।

निर्वाचनको मिति नजिकिँदै गर्दा राप्ती नदीमा पुल निर्माण, नेपालगन्जको सडक स्तरोन्नति, नेपालगञ्जमा आकासे पुलदेखि मन्दिर परिसरको भवन उद्घाटन लगायत कार्यक्रममा मन्त्री राईको सक्रियता छ। नेपालगन्ज उपमहानगरपालिका- २ स्थित हनुमानगढी परिसरको भवन उद्घाटन गर्न पुगेका मन्त्री राईलाई युवाहरुको समूहले अवरोधसमेत गरेको थियो। भवन उद्घाटनका लागि मन्त्री राईको नाम लेखिएको शिलालेख समेत स्थानीयले हटाएका थिए। मन्त्री राई गठबन्धनबाट बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवार हुनेमा ढुक्क देखिन्छन्।

धार्मिक एजेण्डा लिएर फेरि धवलशमशेर

नेपालगञ्जमा धवलशमशेर राणा एक ब्राण्डु हुन्। २०५४ सालमा स्थानीय तहको निर्वाचन जितेका राणाले विभाजित मतदातालाई निष्पक्ष सेवा दिएको भन्दै उनको प्रशंसा हुन्छ। त्यही प्रशंसाले उनी संघीयता कार्यान्वयनको पहिलो कार्यकालका लागि नेपालगञ्ज उपमहानगरपालिकाको मेयर बने। विकासको नारा लिएर निर्वाचन जितेका धवलसँग अहिले निर्वाचनको नारा अर्कै छन्। अहिले उनी जोडतोडले हिन्दू राष्ट्रको नारा लगाइरहेका छन्।

सनातन हिन्दू राष्ट्रसहितको संवैधानिक राजतन्त्रको नारा लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर राणा चुनावी मैदानमा छन्। नेपालगन्ज उपमहानगरपालिकाका निवर्तमान प्रमुख राणाको चुनावी नारा नै सनातन हिन्दू राष्ट्र भएपछि धार्मिक गतिविधिमा उनको सक्रियता नहुने कुरै भएन। राप्रपाको यो निर्वाचनको मुख्य एजेण्डा नै हिन्दू राष्ट्र हो। राणा नेपालगञ्जका भण्डारादेखि धार्मिक र्‍यालीमा सहभागी भइरहेका छन्।

हिन्दूहरुको पहिचान राप्रपाको अभियान, मंसिर ४ गते हलोमा मतदानु भन्ने डा। राणाको चुनावी नारा छ। तर उनी जब मुस्लिम बस्तीमा पस्छन्, त्यसपछि उनको रुपरंग र बोलीव्यवहार फरक हुन्छ। केही दिनअघि मस्जिदमा प्रार्थना गर्न जाने मुस्लिम समुदायका मतदातालाई भेटेर उनले सबै जात, धर्म र सम्प्रदायको अधिकारका लागि आवाज उठाइरहेको जिकिर गरे।

शिवसेनाको आडमा स्वतन्त्र उम्मेदवार दिवाकर

जब नेपालगन्जमा चुनावको माहोल बन्छ, दिवाकर खनालको चर्चा चुलिन्छ। जबर्जस्त रुपमा उनको नाम बजारमा छाउँछ। हिन्दुत्वको नारालाई मुख्य चुनावी एजेन्डा बनाउँदै दिवाकर पटक पटक चुनावी मैदानमा होमिन्छन्।

२०५४ सालमा नेपालगन्ज नगरको मेयरको चुनाव प्रतिस्पर्धा गरेका दिवाकर फेरि मैदानमा आएका छन्। शिवसेनाको दरिलो साथ अनि हिन्दू नारालाई मुख्य एजेन्डा बनाएर डा. धवल शमशेर राणासँगै चुनावमा प्रतिस्पर्धा गरेका दिवाकर उपविजेता बनेका थिए भने नेपाली कांग्रेसका सुरेन्द्र हमाल तेस्रो भएका थिए। बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट संघीय सांसदको स्वतन्त्रबाट उम्मेदवारी घोषणा गर्नुअघि नेपालगन्जका दिवाकर शर्मा खनालले हनुमान चालीसा पाठ गरे। पहेंलो कपडामा सजिएर खनालले हिन्दुत्वको वकालत गरे। दिवाकर नेपाली कांग्रेस र शिवसेनाका पुराना नेता हुन्।

शिवसेनामा आवद्ध भएर हिन्दूको चर्को वकालत गरेको भन्दै सशस्त्र आन्दोलनका क्रममा उनले ८ राउण्ड गोली खाएका थिए। गोली हानेर ढालेपछि हतियारधारीले उनलाई मर्‍यो भनेर छाडेका थिए। छातीमा छ वटा अनि दायाँबायाँ हातमा एक–एक वटा गोली लागेर पनि बाँचेका खनालले त्यसपछि झन् हिन्दुत्वको नारालाई बलियो बनाउँदै उठाउने गरेका छन्।

माओवादी द्वन्द्वबाट जोगिन केही वर्ष अमेरिका गएर बसेर उपचार गराएका दिवाकर शान्ति स्थापनापछि स्वदेश फर्किएका थिए। स्वदेश फर्किएर पुरानै व्यवसाय सम्हालेका उनले अहिले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्रबाट उम्मेदवारी घोषणाा गरेपछि एकपटक फेरि चर्चामा छन्। ‘यसपटक हिन्दू राष्ट्रको मुद्दा बलियो गरी उठेको छ, यसलाई सदनसम्म पुर्‍याउने मलाई जिम्मेवारी आएको छ,’ नेपाल समयसँग उनले भने, नेपालगञ्जको पुरानो जीवनशैली र धार्मिक सहिष्णुता जोगाउने कुरा अहिलेको प्रमुख कार्यभार हो।

जीवनको अन्तिम चुनाव भन्ने गरेका दिवाकरले आफ्नो प्रमुख मुद्दा हिन्दू राज्यको स्थापनालाई बनाएका छन्। निर्वाचनमा जस्तोसुकै नतिजा आए पनि हाम्रो लक्ष्यलाई युवा पुस्तामाझ सुम्पिने हो, खनाल भन्छन्, ‘हाम्रो देशमा हिन्दूको बाहुल्यता छ। हिन्दू राज्य हुँदा देशमा बेथिति र भ्रष्टाचार मौलाएको थिएन। देशमा गणतन्त्र, राजतन्त्र, लोकतन्त्र वा जुनसुकै तन्त्र आए पनि हिन्दू राज्य हुनुपर्छ। देशका अधिकांश जनताको यो चाहना पूरा हुनुपर्छ।’

खनालको उम्मेदवारी घोषणाले बाँके क्षेत्र नम्बर २ को चुनावी माहोलमा फरक तरंग पैदा भएको छ। मन्त्री मोहम्मद इस्तियाक राई र धवलशमशेर राणाबीचको चुनावी प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार दिवाकरको प्रवेशले थप रोमाञ्चक परिवेश निर्माण गरेको छ।

नेपाल समयबाट साभार

Nabintech