१३ बैशाख २०८१, बिहीबार
भ्रष्टपतिहरूको विधेयकमा राष्ट्रपतिको लगाम

  • ऋषिराज शर्मा

  • ५ आश्विन २०७९, बुधबार ११:४९

आजको दिन नेपालको इतिहासकै सुनौला दिन ! सलाम राष्ट्रपतिज्यू ! आज हिमाल, पहाड र तराइ मधेसका जनताको शिर गर्वले समुन्नत भएको छ । राष्ट्रलाई फिँजी बनाउने र सिक्किम बनाउने कम्फर्टेबलहरूको दुराशयमा सम्माननीयले लगाम लगाउनुभएको छ । कम्तीमा अब नेपाली जनताले नेपाल आमाको अस्मितालाई लिलाममा राख्नेहरूलाई चिन्ने र राष्ट्र जोगाउने अन्तिम अवसरका रूपमा  आगामी मङ्सिर ४ गते यिनका विरुद्ध मतदान गर्न र मुलुक बचाउन पाउने भएका छन् ।

र, आज सबैभन्दा खुसी मधेस भएको छ यताका आदिवासी मधेसीहरूलाई विस्थापित गरी उताका आधाबासीहरूलाई स्थापित गर्ने कागजातमा ल्याप्चे लगाएर रातारात ल्याइएको नागरिकता विधेयकमा प्रमाणीकरण नगरी राष्ट्रपतिले राष्ट्रको मुटु जित्नुभएको छ । यहाँका रैथाने मधेसीहरूलाई अल्पमतमा पारेर विदेशीहरू भित्र्याई यहाँका आदिवासीहरूलाई सधैँ विदेशीको दास बनाउन खोज्नेहरूको सपना हाललाई रोकिदिएकामा आम मधेसीहरू गद गद छन् ।

उताबाट उहिल्यैदेखि सुपारी लिई यता उपद्रव मच्चाउने र युद्ध(!)का झीरले राष्ट्रलाई पटक पटक घोचेर घाइते बनाउने र देशलाई अस्थिरतातर्फ धकेल्ने कुपात्रहरूको अर्को राष्ट्रघाती कदमको कुकर्ममा हर्न र ब्रेक दुवै लगाउनु भएको छ ।

पाँच दलीय गठबन्धन नामको संवैधानिक अस्तित्व नभएको ठगहरूको गठबन्धनको झुन्डको जबरजस्ती सहितको गैर संवैधानिक कुचालको गालामा राष्ट्रपतिले झापड लगाउनुभएको छ । यो निर्णयबाट पापी धुन्धुकारीहरूले नेपालको राष्ट्रियता उता बुझाउन र दुर्घटना यता गराउने नियतले  कुँदाउँदै लगेको राष्ट्रघाती सवारी साधन  यिनको टाउकै ठोक्किने गरी टुटिल्का उठ्ने गरी स्पिड ब्रेकरमा ठोकिएको छ ।

राष्ट्रपतिले संविधान बमोजिम पुनः विचारको सन्देश पठाउँदा संसद्मा नपुग्दै उधारो प्रधानमन्त्रीको दक्षिणाको लोभमा गठबन्धनले बैठकै बसेर जस्ताको त्यस्तै पास गर्ने निर्णय गर्‍यो । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको नागरिकता विधेयकमा नौ वटा महत्त्वपूर्ण सवाल उठाउनुभएको थियो, जसमा, पहिलो सवाल “नागरिकता कानुन बनाउँदा ऐतिहासिक पक्षहरूको समग्र अध्ययन आवश्यक” भन्ने थियो । दोस्रो सवाल “नागरिकताका सिद्धान्तहरूमा स्पष्टताको खोजी” भन्ने थियो । तेस्रो सवाल “अङ्गीकृत नागरिकताको विषयलाई स्थायी रूपमा समाधान गरिनुपर्ने: भन्ने र चौथो सवाल चाहिँ “ प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनमा चासो” भन्ने थियो ।  पाँचौँ सवाल “मधेसको भावना सम्बोधन” र छैटौँ सवाल “स्वघोषणाबारे गम्भीर ध्यानाकर्षण” भन्ने थियो । त्यस्तै सातौँ सवालका रूपमा  “प्रादेशिक पहिचानबारे संविधानको व्यवस्था ऐनमा नदेखिएको” भन्ने आठौँ सवालका रूपमा “ केपी ओलीद्वारा जारी गरिएको नागरिकता अध्यादेशका सम्बन्धमा” भन्ने थियो भने नवौँ र अन्तिम सुझावका रूपमा “नागरिकता कानुन बनाउन ढिलो गर्नुहुँदैन” भन्ने थियो । ,,,,

यसरी मुलुकको क्यान्सरका रूपमा रहेको यो गठबन्धनले देशभित्रका महिलासँग सम्बन्धित सवालमाथि बेवास्ता र भेदभाव गर्दै विदेशी महिलाहरूलाई लालाबालासहित भित्र्याई सुरुकै दिनदेखि नागरिकताको प्रसाद बाँड्ने र नेपालको हितमा दीर्घकालीन असर पर्ने गरी वारिका लागि निकै पीडादायी र पारिका लागि असाध्यै कम्फर्टेबल निर्णय गर्‍यो ।

नेपालमा नागरिकताको विकराल समस्या छ । हो, नेपालमा नागरिकता पाउनुपर्नेले पाएका छैनन् । त्यति मात्रै होइन, नागरिकता नपाएर हुनसम्म सास्ती र दुख पाएका छन् । राष्ट्रपतिले नागरिकता नपाएका तमाम देशभित्रका अनागरिक भई बाँच्न विवशहरूलाई नागरिकता दिने गरी सच्याउन ठोस सुझाव दिँदा यी अपराधीहरूका आँखामा पारिपट्टिका ले लगाइदिएको आईसी लेन्सको कम्फर्टेबल चस्माले पटक्कै देखेन । राष्ट्रको सच्चा अभिभावक भएर गरिएको आजको निर्णयले भोलिको नेपालको नक्सा नै नरहने हो कि भन्ने भय कम्तीमा मङ्सिर ४ सम्मलाई टरेको छ ।

अब गठबन्धनले चालिसकेको यो कदमका पाइला मेट्न र देशलाई चिरायु राख्न पनि अबको चुनावमा हिमाल, पहाड तराइका आम जनताले गठबन्धनका विरुद्ध मतदानको खोलो बगाउनु जरुरी छ । केपी ओलीका पालामा नेपालमा नागरिक भएर पनि अनागरिक भएर बाँच्न विवशहरूले फास्ट ट्र्याकबाट नागरिकता पाऊन् भनेर ल्याइएको अध्यादेश थियो ।  कम्तीमा पनि नेपालको नागरिकता लिन विदेशबाट विवाहित महिलाहरूले पनि निश्चित अवधि र निश्चित सर्त पूरा गर्नु पर्ने सर्त राखिएको थियो । त्यस बेला यिनले विरोध गर्दै किन बबन्डर मच्चाए भनेको त यही नागरिकता कानुन ल्याएर विदेशीहरूलाई  हाताहाती नागरिकता दिने सपना पूरा हुन्न कि भनेर पो बर्बराएका रहेछन् !

अहिले व्यक्तिका रूपमा जे सुकै भने पनि राष्ट्रपतिका रूपमा रामवरण यादवले कटुवाल कान्ड रोकेर सेना कब्जा गरी उता बुझाउने षडयन्त्र रोकेमार्फत देश जोगाउन गरेको सो निर्णय पनि नेपाली जनताले बेलाबेला झलझली सम्झन लायक कदम थियो र त्यति बेलाको त्यो कदम पनि मुलुक जोगाउने मामलामा चानचुने कदम थिएन ।

नेपालको भावी इतिहासमा नेपालमा राष्ट्रियताको अडान लिने केही महान् पुर्खाहरूका लहरमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको नाम सुनौला अक्षरले लेखिने छ । किनकि यो देशका सबैभन्दा कुलाङ्गार, विभीषण र भ्रष्टपतिहरूको गठबन्धनले मुलुक दुर्घटनामा पार्ने दुराशयबाट ल्याइएको कानुन प्रमाणीकरण नगरी यो देशलाई दुर्घटित हुनबाट जोगाउनु भएको छ ! अब देश जोगाउने अभिभारा आम नेपाली मतदाताको हातमा आएको छ र मङ्सिर ४ गते गठबन्धनका विरुद्ध मतदान गरेर देश जोगाउने र बनाउने जिम्मेवारी पूरा गर्नु अनिवार्य छ ।

Nabintech