७ बैशाख २०८१, शुक्रबार
भेरी अस्पतालमा डायलासिस मेशिनको अभाव

अस्पतालमा डायलासिस मेशिनको अभावले ६० जना मिर्गौलाका बिरामीले डायलासिस गर्ने पालो पर्खिरहेका छन


  • टाइम्स संवाददाता

  • ५ आश्विन २०७९, बुधबार १६:४०

नेपालगञ्ज : पश्चिम नेपालमा सबैभन्दा बढी बिरामीको उपचार गर्दै आएको सरकारी अस्पताल भेरी अस्पतालमा डायलासिस मेशिनको अभावले ६० जना मिर्गौलाका बिरामीले डायलासिस गर्ने पालो पर्खिरहेका छन् ।

अस्पतालमा रहेका ४ वटा मेसिन मध्ये एउटालाई आपातकालीन अवस्थाका लागि छुट्टाएर तीन वटा मात्रै नियमित सञ्चालनमा रहकोले मिर्गौलामा समस्या भएर डायलासिसका लागि ६० जना बिरामीले पालो पाएका छैनन् ।

हाल सो अस्पतालमा तीन सिफ्टमा दैनिक ९ जनाले डायलासिस गराइरहेको जनाउँदै २७ जना बिरामीले नियमित डायलासिस गराउने अवसर पाएको भेरी अस्पतालको डायलासिस विभागका प्रमुख डा. पारस श्रेष्ठले बताए । उनले पछिल्लो समयमा मिर्गौला बिग्रेका धेरै बिरामी अस्पतालमा आउन थालेपनि तीन वटा मेशिनबाट मात्र सो सेवा दिन सकिएकोले अधिकांश सेवाबाट वञ्चित भएको बताए ।

भेरी अस्पताल बाहेक सो सेवा लाइफलाइन अस्पताल र नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा पनि रहेको छ । तर, निजीमा धेरै महँगो भएकोले विपन्न र गरिबसँग पालो कुर्ने बाहेक अर्को विकल्प छैन । कोहलपुरमा पनि सरकारले रकम नदिएको भन्दै बेला बेलामा डायलासिस बन्द गरिने गरिएको बिरामीले बताएका छन् ।

मेशिन अभावमा यस क्षेत्रका मिर्गौला पीडितलाई डायलासिस गर्न बाहिर जानु पर्ने र लामो समयपछि मात्र पालो पाउने गरेको गुनासो बढेपछि सरकारले भेरी अस्पतालका लागि थप ६ वटा मेशिन पठाएको छ । गत भदौ १२ गते नै अस्पतालमा पुगेका ती मेसिन जडानको प्रक्रिया भर्खर शुरु भएको अस्पतालले जनाएको छ ।

नयाँ मेशिन पुरानो आइसियु कक्षमा जडान गर्ने कार्य सुरु गरिएको जनाउँदै भेरी अस्पतालका प्रमुख डा. बद्री चापागाईंले अहिलेलाई नयाँ ६ वटा मध्ये पाँच वटा मात्र सञ्चालनमा ल्याउने बताए । उनका अनुसार नयाँ मेशिन जडान भए दैनिक १५ जना बिरामीले डायलासिस सेवा पाउने छन् । त्यसबाट पालो पर्खिरहेकामध्ये अधिकांशलाई सेवा दिन सकिने डा. चापागाईंले बताए ।

Nabintech