१४ बैशाख २०८१, शुक्रबार
हवाइ टिकट नपाउँदा कर्णालीवासी नेपालगञ्जमा अलपत्र

अहिले विमान कम्पनीले कर्णाली जिल्लाका लागि चार्टर उडान गर्न कडाइ गरिएपछि नियमित उडानको माग पनि कम गर्ने गरेको पाइएको छ


  • टाइम्स संवाददाता

  • १५ आश्विन २०७९, शनिबार १५:००

नेपालगञ्ज : हवाइ टिकट नपाउँदा कर्णालीवासी नेपालगञ्जमा अलपत्र परेका छन् । हुम्लाका लागि एकमात्र यातायातको साधन हवाई जहाजका कम्पनीले काठमाण्डौमै उडान केन्द्रित गरेपछि उनीहरूले टिकट नपाएर नेपालगञ्जमै अलपत्र परेका हुन् ।

अहिले नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्लामा उडान भर्न समिट एयरको एकमात्र जहाज छ । समिट एयरको जहाज पर्खिरहेका उनीहरु निराश अवस्थामा विमानस्थल परिसरमा भेटिए । बिहीबार नेपालगञ्जबाट हुम्लाका लागि समिट र ताराको एउटा जहाजले उडान गर्यो । तर, विमानस्थलमा टिकटका लागि पुगेका कसैले पनि उड्न पाएनन् । विमान कम्पनीका कर्मचारीले टिकट पहिले नै प्याक भइसकेको जवाफ दिइरहेका थिए ।

हुम्लाका चुनराज शाहीले दुई हप्तादेखि भौतारिँदा पनि टिकट नपाइएको दुःखेसो गरे । उनले विमान कम्पनीले नाफा कमाउन विदेशी पर्यटकलाई बोक्न पूर्वतिर लाग्दा कर्णालीवासीको अधिकार खोसिएको बताए । अहिले विमान कम्पनीले कर्णाली जिल्लाका लागि चार्टर उडान गर्न कडाइ गरिएपछि नियमित उडानको माग पनि कम गर्ने गरेको पाइएको छ ।

निजी विमान कम्पनीसहित सरकारी कम्पनी नेपाल एयरलाइन्सको विमान पनि नेपालगञ्जमा छैन । नेपाल एयरलाइन्सको विमानस्थलस्थित काउन्टर बन्द अवस्थामा रहेको थियो । भएका उडानमा पनि सर्वसाधारणले टिकट पाउँदैनन् । नेता तथा पहुँचवाला र तिनका आफन्तले फोन गरेकै भरमा टिकट दिने गरेका कारण आधिकारिक बाटोबाट टिकट काट्न पुग्ने सर्वसाधारण निराश भएर फर्किनु परिरहेको छ ।

Nabintech