७ बैशाख २०८१, शुक्रबार
चाडपर्व लक्षित बाँके प्रहरीको सुरक्षा योजना लागु

  • टाइम्स संवाददाता

  • १५ आश्विन २०७९, शनिबार १५:०३

नेपालगञ्ज : चाडपर्वलाई लक्षित गरेर बाँकेमा विशेष सुरक्षा योजना लागु गरिएको छ । चाडपर्वमा हुनसक्ने सुरक्षा जोखिमलाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय बाँकेले विशेष सुरक्षा योजना लागु गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले सुरक्षालाई ध्यान राखेर थप प्रहरी परिचालन गरिएको जानकारी दिए । ‘चाडपर्व शुरु भएसँगै हामीले विशेष सुरक्षा योजना बनाएर लागु गरेका छौं,’ उनले भने, ‘सोहीअनुसार सहरदेखि गाउँसम्म प्रहरी परिचालन भइसकेका छन् ।’

खासगरी चाडपर्वका बेला हुनसक्ने चोरी, डकैती, अपराधलगायतलाई न्यूनीकरण तथा नियन्त्रण गर्नका लागि विशेष सुरक्षा योजना बनाएर कार्यान्वयनमा ल्याएको बाँके प्रहरीले जनाएको छ । चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका लागि जिल्लाभर एक हजार ५९ जना प्रहरी परिचालन गरिएको एसपी अधिकारीले जानकारी दिए ।

विशेष सुरक्षा योजनाअन्तर्गत एकजना प्रहरीले दैनिक कम्तीमा १६ घण्टा ड्युटी गर्नुपर्नेछ । ‘यसअघि दैनिक ८ देखि १२ घण्टासम्म ड्युटी गर्दै आइरहेका प्रहरीलाई १६ घण्टा ड्युटीमा खटाइनेछ,’ उनले भने, ‘८ घण्टा रेस्टको समय दिएर अन्य समयमा प्रहरीलाई ड्युटीमा खटाउने योजना बनाएका छौं ।’

प्रहरीले चाडपर्व सुरक्षाका लागि आफूसँग भएका सवारी साधनलाई अधिकतम् रूपमा प्रयोगमा ल्याउने छ । प्रहरी कार्यालयमा रहेका सवारीहरुलाई सुरक्षाका लागि सहर र गाउँ क्षेत्रमा गस्तीका लागि धेरैभन्दा धेरै प्रयोग गरिने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Nabintech