जुम्ला: जुम्लामा परम्परागतरूपमा गरिँदै आएको घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ । हरेक वर्ष दशैँकाे फूलपातीको दिनमा गरिने घोडा दौड प्रतियोगिता यस पटक पनि सम्पन्न भएको हो ।
राजा सिम मैदानमा आयोजना गरिएको घोडा दौड प्रतियोगितामा पालित, कदम र खुला गरी तीन वटा विधामा पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा खुलातर्फ गुठीचौर गाउँपालिका २ गडीगाउँका विकास बोहरा प्रथम हुनुभयाे । त्यही गाउँका शंकर राेकाया द्वितीय हुँदा विपन्न बाेहरा तृतीय हुनुभयाे ।
यस्तै पालित अर्थात् स्वास्थ्यतर्फ चन्दननाथ नगरपालिका १० गैरागाउँका हर्कबहादुर शाही प्रथम हुनुभयाे । गुठीचाैर ५ का बिर्खबहादुर भण्डारी द्वितीय हुँदा वडा नम्बर २ का मुनसुर बाेहरा तृतीय हुनुभयाे ।
यस्तै कदमतर्फ चन्दननाथ नगरापलिका ८ धरालवाडाका आनन्द धराला प्रथम हुनुभयाे । गुठीचाैर १ का हरिप्रसाद बस्नेत द्वितीय हुँदा गुठीचाैर २ का कालीप्रसाद बाेहरा तृतीय हुनुभयाे ।
तीन वटै विधाका प्रथमलाई पाँच हजार, द्वितीयलाई तीन हजार र तृतीयलाई दुई हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजक कर्णाली स्पाेर्ट क्लबले जनाएको छ । घोडा दौड प्रतियोगितामा ३३ जनाले सहभागिता जनाएका थिए ।