१३ बैशाख २०८१, बिहीबार
पाएनन राउटेले दशैँ भत्ता, दशैं खल्लो भयो राउटे मुखिया

  • टाइम्स संवाददाता

  • १९ आश्विन २०७९, बुधबार ०६:१५

दैलेख : सामाजिक सुरक्षा भत्ता नपाउँदा राउटे समुदायले दशैँ नरमाइलो भएकाे बताएका छन् । आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता गुराँस गाउँपालिकाले उपलब्ध नगराएको राउटे मुखिया नारायण शाहीले बताउनुभयो ।

दैलेखको भगवतीमाई गाउँपालिका १ बेस्तडा बाबियातडामा बस्दै आएका राउटे समुदायले भत्ता नआएपछि पहिलेजस्तै र सोचेजस्तो दशैँकाे तयारी गर्न नपाएको र दशैं खल्लो भयो महामुखिया महिनबहादुर शाहीले दुखेसो गर्नुभयाे ।

सङ्घीय बजेटबाट गाउँपालिका हुँदै वडामा ढिला बजेट प्राप्त भएको कारण समयमा सामाजिक सुरक्षा भत्ता दिन नसकिएको गुराँस गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष दिपेन्द्र ओलीको भनाइ छ । शुक्रवार बेलुकीमात्र रकम आएको र आइतवार बैंक बन्द भएका कारण राउटेलाई भत्ता वितरण गर्न नसकिएको उहाँले बताउनुभयाे ।

कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट आसपासमा बसाइसराइ गर्दै आएका राउटेलाई २०७४ असारदेखि गुराँस गाउँपालिका ८ कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिको हो । वडा कार्यालयले राउटे बस्ती जहाँ पुग्छ, त्यही गएर भत्ता वितरण गर्दै आएको छ । गुराँस गाउँपालिका ८ नं. वडा कार्यालयले २०७४ असारमा राउटे समुदायको तथ्याङ्क सङ्कलन गरी त्यहीँका नागरिकमा गणना गरेयता राउटेहरू जहाँ गए पनि सम्बन्धित ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।

जनगणनाको तथ्याङ्कले राउटको जनसङ्ख्या घट्दै गइरहेको देखाउँछ । २०५८ सालमा एक सय ८० जना रहेकोमा २०६८ को जनगणनामा याे सङ्ख्या घटेर एक सय ६६ जना रहेको थियो । गुराँस गाउँपालिकाले २०७४ सालमा लिएको तथ्याङ्कअनुसार एक सय ४९ रहेकोमा अहिले एक सय ४४ जना छ ।

दुई–तीन महिनामा बसेकाे ठाउँ सर्दै हिँड्ने राउटे समुदाय अहिले दैलेखको भगवतीमाई गाउँपालिका १ बाबियातडामा बस्दै आएका छन् ।

Nabintech