३१ असार २०८२, मंगलवार
असन्तुष्ट कार्यकर्तालाई भीम रावलले भने- पार्टी छोड्ने कुरा हुँदैन

  • टाइम्स संवाददाता

  • २४ आश्विन २०७९, सोमबार ०८:११

कैलाली –  अछाम १ बाट प्रतिनिधिसभामा एकल नाम सिफारिस भएर पनि टिकट नपाएपछि गुपचुप रहेका एमाले नेता भीम रावल निकटका नेता कार्यकर्ताहरूसँग भने टेलिफोन मार्फत मन्थन गर्ने गरेका छन् । भीम रावलले टिकट नपाएको भन्दै अछामका ३ दर्जन बढी नेता कार्यकर्ताहरूले राजीनामा बुझाएका थिए । उनीहरू मध्ये केही सिनियर नेताहरूसँग रावल टेलिफोन मार्फत बस्तु स्थितिबारे जानकारी दिने गरिरहेको पाइएको छ ।

‘उहाँसँग बिहान ९ बजे तिर कुरा भएको थियो’ जिल्ला सचिवालय सदस्यबाट राजीनामा दिएका प्रकाश शाहले भने ‘आफ्नो कुरा पत्रकार सम्मेलन गरेर राख्छु भन्नु भएको छ ।’  क्षेत्रीय निर्वाचन कमिटी संयोजक समेत रहेका शाहले रावलको एकल नाम पठाउँदा पनि टिकट नपाएको भन्दै सबै भन्दा पहिले राजीनामा दिएका थिए । उनी पछि यहाँ ३ दर्जन बढी नेता कार्यकर्ताहरूले राजीनामा दिए ।

मनोनयन दर्ता गर्ने समय भन्दा अघि शाहसँग भएको कुराकानीमा रावलले आफूले स्वतन्त्र उम्मेदवारी नदिने र पार्टी पनि नछोड्ने बताएका थिए । ‘पार्टीले कारबाही गरे अर्कै कुरा हो नत्र स्वतन्त्र उम्मेदवारी दिने वा अर्को पार्टीमा जाने कुरा छैन’ आफूसँग भएको कुराकानी उदृत गर्दै शाहले भने ‘तपाईहरू पनि आफ्नो विषयमा आफै ध्यान दिनुहोला भन्नु भएको छ ।’

अछाममा आफूले टिकट नपाएपछि एमाले उम्मेदवारको विषयमा केही कुरा भयो त  जिज्ञासामा शाहले भने, ‘नाइँ त्यो विषयमा केही कुरा भएन ।’  एक दुई दिनमा पत्रकार सम्मेलन गरेर आफ्ना कुरा राख्ने विषयमा कुराकानी भएको शाहले बताएका थिए ।

Nabintech