५ जेष्ठ २०८१, शनिबार
कालिकोटमा मलामी गएका १३ जना बेपत्ता भएको पुष्टि, १३ जनाकै पहिचान खुल्यो

  • टाइम्स संवाददाता

  • २४ आश्विन २०७९, सोमबार १२:४८

काठमाडौं : कालिकोटमा मलामी गएका वडाअध्यक्षसहित १३ जना बेपत्ता भएका पुष्टि भएको छ। तिलागुफा ४ राँचुलीका युवक हेमराज शाहीको मलामी गएका वडाध्यक्ष परबहादुर शाही सहित १३ जना बेपत्ता भएका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले थाहा सञ्चार नेटवर्कलाई जानकारी दिए। माथिबाट पहिरो झरेर १५ जनालाई बगाएको खबर स्थानीयले दिएपछि प्रहरी आज बिहान घटनास्थलमा पुगेको हो।

शर्माका अनुसार बेपत्ताहरु पहिरोसँगै बगेर तिला नदीमा खसेका आशंका गरिएको छ। प्रहरीले उनीहरुको खोजीकार्य जारी राखेको छ। राँचुली गाउँमाथिबाट आएको पहिरोले २ सय घरपरिवार विस्थापित भएका छन्। उनीहरु  स्थानीय कालिका माविमा बसिरहेको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए।

पहिराेमा परि बेपत्ता भएका १३ जनाकाे पहिचान

कालीकाेटकाे तीलागुफा नगरपालिका-४ मा पहिराेमा परि बेपत्ता भएका १३ जनाकाे पहिचान खुलेकाे छ । तिलागुफा नगरपालिका-४ राँचुली गाउँबाट मलामी गएका वडाअध्यक्षसहित १३ जना पहिरोमा बेपत्ता भएका हुन् ।

पहिरोमा परि बेपत्ता हुनेमा तिलागुफा नगरपालिका-४ का ४७ वर्षका कालीबहादुर शाही, ६३ वर्षका धनबहादुर शाही, ३६ वर्षका छत्रजंग शाही, २८ वर्षका खगेन्द्र शाही, २३ वर्षका भेषबहादुर शाही, ५५ वर्षका धना शाही, ७६ वर्षका अलि शाही, २३ वर्षका खेमराज शाही, ५७ वर्षका मानबहादुर शाही, ४१ वर्षका मोतिलाल शाही, ५६ वर्षका वडाअध्यक्ष परबहादुर शाही, २४ वर्षका नरेश शाही र २२ वर्षका प्रशान्त शाही रहेका डीएसपी जयश्वर रिमालले बताउनुभयो ।

अस्ति शनिवार ज्यान गुमाएका हेमराज शाहीको मलामी जाँदै गर्दा उनीहरु पहिरोमा परेका हुन् । घटनाले तिलागुफा नगरपालिका शोकमग्न भएको छ । यसअघि शुक्रवार गएकाे पहिरोमा परि तिलागुफा नगरपालिका-७, ५ र ६ का १ जना गरी ६ बेपत्ता भएका थिए।

Nabintech