५ जेष्ठ २०८१, शनिबार
मधेश सरकारबाट कांग्रेस, माओवादी र एसका सबै मन्त्री बर्खास्त गर्ने तयारी

  • टाइम्स संवाददाता

  • २८ आश्विन २०७९, शुक्रबार ०६:०२

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारको मन्त्रिपरिषद्बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका ४ मन्त्रीलाई पदमुक्त गरेपछि जसपा नेतृत्वको मधेश प्रदेश सरकारले पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस) पार्टीका सबै मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेको छ ।

मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र शाहले केन्द्र सरकारबाट जसपाका मन्त्रीहरू हटाएपछि मधेश मुख्यमन्त्री लालबाबु राउतले अन्य दलका मन्त्री हटाउनेबारे पार्टी नेतृत्वसँग सल्लाह गरिरहेको जानकारी दिए ।

‘अन्य दलका मन्त्रीहरूलाई भोलिसम्म हटाउने तयारी छ, छलफल चलिरहेको छ,’ उनले भने । मधेश प्रदेश सरकारमा कांग्रेसबाट रामसरोज यादव, वीरेन्द्रप्रसाद सिंह, ओमप्रकाश शर्मा, नेकपा माओवादी केन्द्रबाट भरतप्रसाद साह, रुवी कर्ण, नेकपा एकीकृत समाजवादीका शत्रूधन महतो र प्रमोदकुमार यादव मन्त्रीरराज्यमन्त्री छन् ।

निर्वाचनको मिति घोषणा भइसकेको बेला प्रदेश सभामा मत परीक्षण नहुने भएकाले मन्त्रीहरू हटाउँदा सरकारलाई कुनै असर नपर्ने बताइएको छ । सत्तारुढ गठबन्धनमा रहेको जसपाले नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले बिहीवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई पदमुक्त गरेका छन् ।

Nabintech