६ जेष्ठ २०८१, आईतवार
जसपाका दुई प्रदेश सदस्यसहित दर्जनौँ एमाले प्रवेश

  • टाइम्स संवाददाता

  • २९ आश्विन २०७९, शनिबार ११:२८

रुपन्देही : कपिलवस्तुको मायादेवी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा जसपा लुम्बिनी प्रदेश सदस्य बजरंगी कुर्मी चौधरी एमाले प्रवेश गर्नुभएको छ ।

उहाँ प्रदेशका मन्त्री सहश्रराम यादवका मुख्य सहकर्मी हुनुहुन्छ  । सहश्ररामले उम्मेदवारी दर्ता गर्ने दिन जसपा छाडेर काँग्रेस प्रवेश गरी प्रदेश सांसदको टिकट लिएपछि उहाँका सहकर्मीले एमाले रोज्नुभएको हो ।

एमाले पोलिटब्यूरो सदस्य विमला घिमिरेले उहाँलाई एमालेमा स्वागत गर्नुभयो । जसपाका प्रदेश कमिटी सदस्य रहेका बजरंगीसँगै मायादेवी गाउँपालिकाको उपाध्यक्ष पदमा यस पटकको स्थानीय चुनावमा  २ सय ५० मत अन्तरले पराजित हुनुभएकी जसपा नेतृ माधुरी अग्रहरी सहितको ठुलो समूह एमाले प्रवेश गरेको छ ।

बजरंगी र माधुरीको एमाले प्रवेश गरेसँगै मन्त्री सहश्रराम यादवलाई ठुलो धक्का लागेको छ ।

कार्यक्रममा बजरंगीले अबको सरकारको नेतृत्व र देशको भविष्य दुवै एमालेको हातमा हुने स्पष्ट भएपछि आफू एमाले प्रवेश गरेको बताउनुभयो ।

कपिलवस्तु क्षेत्र १ को २ मा यसअघि गत प्रदेशसभा चुनावमा मन्त्री सहश्रराम यादवसँग ४ सय मतान्तरमा हार्नुभएका मधुसुधन शरण चौधरी एमालेमा प्रवेश गरेर उम्मेदवार हुनुहुन्छ ।

त्यसमा पनि बजरंगी र माधुरीको आगमनले एमाले झनै मजबुत बनेको एमालेका अध्यक्ष डम्बर शर्माले बताउनुभयो। बजरंगी त्यो क्षेत्रमा बलियो पकड भएका नेता हुनुहुन्छ ।

कार्यक्रममा कपिलवस्तु नगरपालिका वडा नं ११ बाट नेपाली काँग्रेस परित्याग गरी ७५ जना एमालेमा प्रवेश गरेको जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारुले बताउनुभयो।

Nabintech