७ आश्विन २०८१, सोमबार
आम्दानीको लोभमा लागुऔषध यात्रातिर ‘नयाँ पुस्ता’

  • रासस

  • ३१ आश्विन २०७९, सोमबार ०५:५४

कर्णाली प्रदेशका लागुऔषधको कुलतमा फस्ने ‘नयाँ पुस्ता’को सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । लहलहै र बाध्यतामा परेर लागुऔषधको दलदलमा भासिन पुगेको यो पुस्ता उम्किन सकेको छैन । पढेलेखेका, उच्च घरानाका यो नयाँ पुस्ता पनि कुलतमा फसेको पाइएको छ ।

खासगरी अध्ययन तथा अन्य रोजगारीको सिलसिलामा कर्णाली प्रदेशका विभिन्न पहाडी जिल्लाबाट प्रदेश राजधानी रहेको सुर्खेत जिल्लाको बसाइसँगै उनीहरू लागुऔषधको दलदलमा फसेको पाइएको छ । पढ्न वा कामको सिलसिलामा बजारमा आइपुगेका युवतीहरू कुलतमा फस्ने गरेका छन् ।

प्रायः यौनकर्मी युवतीले लागुऔषध सेवन गर्ने पाइएको छ । सेवन नगर्नेहरू पनि छिटो समयमै पैसा कमाउने लोभले कारोबारमा लागेको पाइएको छ ।

लागूऔषध कारोबारमा पनि महिला अगाडि नै छन् । उनीहरू लागुऔषध ओसारपसार गरिदिने वा सम्पर्कस्थल बनेर कारोबारमा सघाउने गरेको पाइन्छ । कर्णाली प्रदेशका पहाडी जिल्लाका महिलाहरू चरेस, अफिम बोकेर नेपालगञ्ज झर्नु र यहाँका नयाँ पुस्ताका युवायुवतीहरूले कारोबार गर्नुलाई नौलो मानिँदैन ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार सुर्खेतमा दैनिकजसो लागुऔषध कारोबारी पक्राउ पर्ने गरेका छन् । छोटो समयमा धेरै सम्पत्ति आर्जन गर्ने लोभमा लागुऔषधको गैरकानुनी कारोबार गर्ने क्रम बढ्दो छ । कर्णाली प्रदेशमा लागुऔषध प्रयोग र कारोबार पछिल्ला तीन वर्षमा बढ्दै गएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क छ ।

नयाँ पुस्ता अर्थात युवायुवती नै बढी कारोबारमा संलग्न भएको पाइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा लागुऔषधसहित ३८ जनालाई नियन्त्रणमा लिइएको छ । लागुऔषध सेवन गर्नेको सङ्ख्या पनि बढ्दै जाँदा यसको कारोबार मौलाएको छ ।

‘गैरकानूनी काम गर्दा कारबाही हुन्छ भन्ने थाहा पाएर पनि लागूऔषध कारोबारीको सङ्ख्या बढेको छ । बेरोजगारी मुख्य समस्या हो, सरकारले रोजगारीमूलक कार्यक्रम ल्याउनुपर्छ’, स्थानीयवासी कर्णबहादुर कार्की भन्छन् । रोजगारीमूलक शिक्षाको कमीका कारण लागूऔषध दुव्र्यसनीमा ‘नयाँ पुस्ता’ फसेको अर्का स्थानीयवासी हरिबहादुर कार्की बताउँछन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/०७७ मा १५०, आव २०७७/०७८ मा १२३, आव २०७८/०८९ मा १७२ र आव २०७९/०८० को तीन महिनामा ३८ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । पक्राउ परेका ८० प्रतिशत छिटो धन आर्जन गर्ने लोभमा कारोबारमा संलग्न रहेको पाइएको छ ।

विशेषगरी नयाँ पुस्ता लागूऔषध प्रयोग तथा ओसारपसारमा संलग्न हुने गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद श्रेष्ठले बताउँछन् । परिवार तथा अभिभावकको हेलचेक्र्याइँ र निगरानीको अभावमा नयाँ पुस्ता लागुऔषधको लतमा फस्दै जान थालेको सूचना अधिकारी श्रेष्ठले बताए ।

लागुऔषध ओसारपसारमा परिवारका सबै सदस्य नै संलग्न हुने गरेको पाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी श्रेष्ठ बताउँछन् । ‘क्षणिक समयमा रिस्क’ मोल्न सके धेरै आम्दानी हुने भएपछि कानुनी जोखिम मोलेरै भए पनि नयाँ पुस्ता लागुऔषध कारोबारमा संलग्न हुने गरेको उनले बताए ।

प्रहरीका अनुसार नाइट्रोजेपाम ब्राउनसुगर, चरेस, अफिम, गाँजा, कोरेक्सलगायतको लागुऔषधको बढी ओसारपसार हुने गरेको पाइन्छ । सूचना अधिकारी श्रेष्ठले लागूऔषध नियन्त्रमा प्रहरीले कडाइ गरेको बताए । भारतीय सीमा नाकासँग जोडिएको लुम्बिनी प्रदेशको बाँके जिल्लाबाट लागुऔषध ओसारपसार धेरै हुने गरेको प्रहरीको तथ्याङ्क छ ।

Nabintech