६ जेष्ठ २०८१, आईतवार
बाढी पहिरोका कारण भएको क्षतिको अध्ययनका लागि प्राधिकरणको टोली जुम्लामा

  • टाइम्स संवाददाता

  • २ कार्तिक २०७९, बुधबार ०७:२८

काठमाण्डाै: विपद्ले पारेको क्षतिबारे अध्ययन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली जुम्ला पुगेको छ । सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेका गाउँ तथा वडापालिकाको अध्ययनका लागि उपसचिव इञ्जिनियर पवनबाबु बास्तोला संयोजकत्त्वको तीन सदस्यीय प्राधिकरणको टोली जुम्ला पुगेको हो ।

आज जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर प्राधिकरणको टोलीलाई हरेक पालिकाले समन्वय र सहजीकरण गर्ने जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिनुभयो ।  उहाँका अनुसार हरेक पालिकाले अहिलेसम्म भएको सम्पूर्ण क्षतिको विवरण वडा विपद् व्यवस्थापन समितिमार्फत सात दिन भित्र बुझाउनु पर्ने निर्णय भएको छ । जुम्लामा प्राधिकरणबाट खटिएकोे टोलीका सदस्य दीपककुमार खड्काले विपद् जोखिम न्यूनीकरण कार्यविधिअनुसार क्षतिको प्रकृति हेरी सरकारले राहत उपलब्ध गराउने बताउनुभयो ।

हिमाली जिल्लाको हकमा बाढी पहिरोपीडित परिवारलाई पाँच लाख रुपैयाँ, पहाडी जिल्लाको हकमा चार लाख रुपैयाँ र तराईका जिल्लामा तीन लाख रुपैयाँसम्म राहत दिइने उहाँले बताउनुभयो । कार्यविधिअनुसार राहतको व्यवस्थापन गर्दा पालिकाले १० प्रतिशत, प्रदेशले ३० प्रतिशत र सङ्घले ६० प्रतिशत सहयोग गर्नैपर्ने उल्लेख छ । गएको १९ गतेदेखि २४ गतेसम्मको अविरल वर्षापछिको बाढी तथा पहिरोका कारण क्षतिग्रस्त जुम्लाको कनकासुन्दरी, सिंजा, हिमा गाउँपालिका र तिला गाउँपालिका १, २, ३, ४, ६ र ७ वडालाई तीन दिन अघि सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

Nabintech