६ जेष्ठ २०८१, आईतवार
वाइसिएलका घोराही इन्चार्जसहित एक सयभन्दा बढी युवा एमालेमा प्रवेश

  • टाइम्स संवाददाता

  • ३ कार्तिक २०७९, बिहीबार १०:१६

घोराही: नेकपा माओवादी केन्द्रको युवा सङ्गठन वाईसिएलका घोराही इन्चार्ज सुवास विक, वाईसिएलका घोराहीका उपाध्यक्ष रामचन्द्र केसीसहित एक सय जना युवा नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।  घोराहीमा बुधवार नेकपा (एमाले) दाङ जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा नवप्रवेशी युवाहरूलाई एमालेका महासचिव शङ्कर पोखरेललगायत नेताहरूले स्वागत गर्नुभयो ।

कार्यक्रममा महासचिव पोखरेलले नेकपा (एमाले) मुलुकमा आर्थिक सामाजिक विकासका माध्यमबाट समाज बदल्न चाहन्छ भन्नुहुँदै त्यसका लागि पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताउनुभयो ।  उहाँले देशका भविष्य युवाहरू हुन् भन्ने कुरामा पार्टी स्पष्ट दृष्टिकोण रहेको बताउँदै युवाहरूको भविष्य एमालेमा रहेको छ बताउनुभयो।

वर्तमान गठबन्धन १४ महिना सरकारमा रहँदा मुलुकका लागि नोक्सानदायी बनेको चर्चा गर्दै महासचिव पोखरेलले  असुरक्षा र स्वार्थको राजनीतिबाट बनेको गठजोडलाई आगामी निर्वाचनमा पराजित गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो–“सत्ता गठबन्धन नीतिगत अन्योलमा छ । नीतिगत स्पष्टता र नेतृत्व समेत अगाडि सारेर एमाले निर्वाचनमा होमिएको छ । प्रदेशमा प्रदेश सरकार र केन्द्रमा बहुमतको सरकार बनाउने गरी निर्वाचनमा जुट्नुपर्छ ।

कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य सुजिता शाक्यले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै निर्वाचनमा जुट्न आग्रह गर्नुभयो।

नवप्रवेशी वाईसिएलका घोराही इन्चार्ज सुवास विकले आफूहरूको एमाले प्रवेश केवल पार्टी प्रवेश मात्र नभएर प्रतिक्रियावादी शक्ति र राष्ट्रवादी शक्तिबिचको लडाइँमा राष्ट्रवादी शक्तिको पक्षमा लड्न एमालेमा प्रवेश गरेको बताउनुभयो । महासचिव पोखरेलले बुधवार साँझ घोराहीको सौडियारमा रात्रिकालीन कार्यकर्ता भेलालाई सम्बोधन गर्नुभएको थियो ।

यसैबीच दाङको बंगलाचुली वडा नं. ४ बाट मुलुकको विकास र समृद्धि नेकपा (एमाले)ले मात्र गर्न सक्छ भन्दै माओवादी केन्द्र परित्याग गरी दुर्गशमान सिंह, चुमा घर्ती, गायत्री घर्ती, मधु पुन, पदम घर्ती र नेपाली काँग्रेसका भुवन सिंह पुन पनि एमालेमा प्रवेश गर्नुभएको छ । उहाँहरूलाई नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज जीवन गौतम लगायतका नेताहरूले पार्टीमा स्वागत गर्नुभयो ।

Nabintech