६ जेष्ठ २०८१, आईतवार
आज सुरु हुँदैछ यमपञ्चक, कुन दिन के गर्ने?

यो वर्षको भाइटीकाको साइत बिहान ११ बजेर ३७ मिनेटमा


  • टाइम्स संवाददाता

  • ५ कार्तिक २०७९, शनिबार १०:०३

काठमाडौं : शनिवार यमपञ्चक (तिहार) शुरु हुँदैछ। कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्मको अवधिलाई यमपञ्चक भनिन्छ। पाप धर्मका साक्षी धर्मराज अथवा यमराजसँग सम्बन्धित भएको पाँच दिन हुनाले यमपञ्चक भनिएको कथन छ। यमपञ्चकका पाँच दिन यमराज आतिथ्य ग्रहण गर्न बहिनी यमुनाको घर जाने पनि बताइन्छ।

शनिवार २६ घडी ४ पला अर्थात् ४ बजेर ३४ मिनेटसम्म द्वादशी तिथि छ। त्यसपछि त्रयोदशी लागेसँगै यमपञ्चक सुरु भएको हो। पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार त्रयोदशी लाग्ने भएका कारण शनिबार नै यमपञ्चक सुरु भएको हो।

यमपञ्चकको पहिलो दिन ‘यमदीपदान’ गर्ने परम्परा छ। त्रयोदशीका दिन साँझपख ‘यमदीपदान’ गर्नाले अपमृत्यु नाश हुने पुराणहरूमा उल्लेख  छ। ​धनतेरस पनि शनिबार नै मनाइँदै छ। बहुमूल्य वस्तु जोड्ने दिनको रूपमा यसको महत्त्व छ।

यमपञ्चक शनिवार नै शुरु भए पनि कागतिहार भने आइतबार परेको छ। यो दिन २७ घडी १८ पला अर्थात् ५ बजेर ४ मिनेटसम्म त्रयोदशी छ। कागको पूजा गर्ने र उसलाई खानेकुरा खुवाउने दिनको रूपमा यो दिनको महत्त्व छ। यसैदिन आयुर्वेदका देवता धनवन्तरीको जन्मदिन पर्छ।

सोमबार चतुर्दशी अर्थात् कुकुरको पूजा गर्ने दिन। यो दिन २७ घडी १५ पला अर्थात् अपराह्न ५ बजेर ४ मिनेटसम्म बजेसम्म चतुर्दशी रहेको छ। यसलाई नरक चतुर्दशी वा बोलीचालीमा ‘नरके चतुर्दशी’ भनिन्छ।

चतुर्दशीको झिसमिसेमा तारा नअस्ताउँदै शरीरमा तेल घसी अपामार्गको बोटले शिर वरिपरि घुमाई स्नान गर्ने र बत्ती नदीमा बगाउने विधान पनि छ। यसो गर्दा ‘नरक जानु पर्दैन’ भन्ने विश्वास छ। यो वर्ष लक्ष्मीपूजा पनि सोमबार नै गरिँदैछ। लक्ष्मीपूजा कार्तिक कृष्ण औँसीको रात्रिमा गर्ने विधान छ। भोलिपल्ट बेलुकी औँसी नरहने भएकाले यसै दिन लक्ष्मीपूजा गर्न लागिएको हो।

मंगलबार औँसी अर्थात् गाईतिहारे औँसी। यो दिन औँसी २५ घडी ५७ पला अर्थात् अपराह्न ४ बजेर ३३ मिनेटसम्म रहनेछ। बिहान गाईको पूजा गरिन्छ। साँझमा भने सूर्यग्रहण लाग्नेछ। खण्डग्रास ग्रहण नेपाली आकाशमा ३२–३३ मिनेट रहने खगोलविदले जनाएका छन्। यो अपराह्न ४:५३ मा सुरु भई ५:२६ मा सकिने छ।

बुधबार कार्तिक शुक्ल प्रतिपदा अर्थात् गोर्वधनपूजा। कृषिमा सहयोगी गोरुको पूजा गर्ने दिन। यो दिन २३:३० घडी अर्थात् अपराह्न ३ बजेर ११ मिनेटसम्म  बजेसम्म प्रतिपदा छ। यही दिन नेपाल संवतअनुसारको वर्ष फेरिन्छ। बुधबार ११४३ सुरु हुनेछ। बेलुकी नेवार समुदायले ह्मपूजा अर्थात् आत्मपूजा गर्ने गर्दछ।

कात्तिक १० गते बिहीबार भ्रातृद्वितीया अर्थात् भाइटीका परेको छ। यो दिन द्वितीया तिथि २० घडी १ पला अर्थात्  दिउँसो २ बजेर १२ मिनेटसम्म छ। समितिले यो वर्षको भाइटीकाको साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ।

 

Nabintech