८ बैशाख २०८१, शनिबार
चुनावी महासंग्रामबाट ओझेलमा बादल, एमालेमा के गर्दै छन् पूर्वमाओवादी ?

  • निशेष खनाल

  • २३ कार्तिक २०७९, बुधबार २०:२३

काठमाडौं : पूर्वमाओवादी केन्द्रका ९ जना नेता नेकपा एमालेबाट चुनावी मैदानमा छन्। पूर्वमाओवादीबाट सचिवहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, नेता गौरीशंकर चौधरीलगायत ९ जना नेता चुनावी मैदानमा छन्।

कैलाली–४ बाट लेखराज भट्ट, अर्घाखाँचीबाट टोपबहादुर रायमाझी र कैलाली–३ बाट गौरीशंकर चौधरी, सिन्धुली–२ बाट मनोजजङ्ग थापा, झपट बोहरा, वीरबहादुर थापा, धर्मराज रेग्मी र छक्कबहादुर लामा लगायत पूर्वमाओवादी नेकपा एमालेका तर्फबाट उम्मेदवार छन्।

रौतहट-३ बाट प्रत्यक्षतर्फको टिकट पाएका नेता प्रभु शाहले स्वतन्त्र उम्मेदवारी दिएका छन्। २०७४ सालको निर्वाचनमा भट्ट, रायमाझी र चौधरी यसै निर्वाचन क्षेत्रबाट नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। तर नेकपा विभाजन भएसँगै एमाले रोजेका ४ जना नेताहरूलाई माओवादी केन्द्रले कारबाही गरेसँगै उनीहरूको सांसद पद गएको थियो।

ओझेलमा बादल

नेकपा विभाजन भएसँगै नेकपा एमाले रोजेका पूर्वमाओवादी नेता रामबहादुर थापा बादल ओझेलमा परेका छन्। माओवादीमा हुँदा पुष्पकमल दाहाल प्रचण्डको उत्तराधिकारीको रुपमा चिनिएका बादल एमालेमा गएसँगै राजनीतिक रुपमा सक्रिय छैनन्।

अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कुनै पनि कार्यक्रममा बादल देखिएका छैनन्। २०३७ सालदेखि भूमिगत राजनीति गरेका रामबहादुर थापा बादल पुष्पकमल दाहाल प्रचण्डसँगै १० वर्षे जनयुद्ध लडेका कमाण्डर हुन्।

माओवादी शान्ति प्रक्रियामा आएसँगै २०६४ को चुनावपछि बादल प्रचण्ड नेतृत्व सरकारको रक्षामन्त्री भए। २०६९ मा मोहन वैद्य, सीपी गजुरेलले माओवादी फुटाएर गएसँगै बादल पनि उतै खुलेका थिए।

२०७३ जेठ ६ गते बादल माओवादी केन्द्रमा फर्किए। डा.बाबुराम भट्टराईले पनि साथ छोडेका कारण कमजोर बनेका प्रचण्ड बादलको आगमनसँगै हर्षित र उत्साहितसमेत भए।

बादल माओवादीमा फर्किएसँगै उनलाई प्रचण्डको उत्तराधिकारीको रुपमा समेत हेर्न थालियो। २०७४ फागुन १५ गते अध्यक्ष प्रचण्डले केपी शर्मा अ‍ोली नेतृत्वको सरकारमा बादल नेतृत्वमा आफ्ना मन्त्री सरकारमा पठाए।

६ वर्षका लागि राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका बादल माओवादी केन्द्रको कोटाबाट केपी ओली नेतृत्वको सरकारमा गृहमन्त्री थिए। नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा सरकारको गृहमन्त्री रहेका बादलले पूर्ण कार्यकाल सरकारमा रहन पाएनन्।

पार्टी विभाजनपछि एमाले रोजेका बादललाई माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यबाट पदमुक्त गर्‍यो। बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनमा समेत बादल पराजित हुन पुगे।

तत्कालीन एमालेमा रहेको माधव नेपाल समूहको मत नपाएका बादलको राजनीतिक यात्रा निरन्तर ओरालो लाग्न थाल्यो। राष्ट्रियसभा सदस्यमा ४ हजार १४ मत पाएर उनी पराजित भएका थिए।​राष्ट्रियसभा सदस्य नरहेका बादल लामो समय सत्तामा रहन सकेनन्।त्यसपछि चितवनमा भएको एमालेको १० औं महाधिवेशनबाट बादल एमाले उपाध्यक्षमा चयन भए। एमाले उपाध्यक्ष भए पनि बादलको सक्रियता केन्द्रीय सदस्य जत्तिको पनि छैन।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको महासंग्राममा समेत बादल देखिएका छैनन्। चितवनमा सम्पन्न १० औं महाधिवेशनबाट उपाध्यक्ष बनेका बादल एमालेका सार्वजनिक कार्यक्रममा देखिन छाडेका हुन्।

बादलनिकट नेता मणि थापाका अनुसार अध्यक्ष ओलीले बादललाई चितवन–३ बाट पुष्पकमल दाहाल प्रचण्डसँग चुनावमा भिडाउन चाहेका थिए। तर बादलले प्रत्यक्षमा चुनाव लड्न अनिच्छा देखाएको र समानुपातिकमा रहने इच्छा देखाए। बादलको इच्छामा एमालेले बनाएको मापदण्ड तगारो बन्यो। एमालेले पदाधिकारीहरू प्रत्यक्षमा चुनाव लड्ने मापदण्ड बनाएको थियो।

‘उहाँ प्रत्यक्ष लड्न चाहनुभएन। समानुपातिकमा उहाँको रुची भएन। बादलजी बाहिर आउन रुची गर्नुहुन्न‚ उहाँ अफिसियल टाइपले काम गर्न खोज्नुहुन्छ। मिडियामा आउन, भाषण गर्न रुची गर्नुहुन्न,’ एमाले स्थायी कमिटी सदस्य थापाले भने, ‘जिम्मेवारीका हिसाबले लेखराजजीहरू सक्रिय हुनुहुन्छ। बादलजीको जिम्मेवारी धेरै नभएकाले पनि हो।’

उनले आफूहरू एमालेभित्र ओझेलमा नपरेको दाबी गरे। नेता थापाले माओवादी केन्द्रभन्दा एमालेको स्कुलिङ फरक भएको बताए। ‘हामी ओझेलमा परेका छैनौं। पूर्वमाओवादीबाट ९ जनाले टिकट पाएका छन्। एमाले आफैंमा ठूलो पार्टी भएका कारणले गर्दा हाइलाइटमा आउन सकिएन होला तर माओवादी र एमालेको स्कुलिङ पनि फरक छ। एमाले आफैंमा ठूलो पार्टी हो। त्यहाँ काम गर्ने कार्यशैली पनि फरक छ। माओवादी जस्तो संसदीय दलमा थोरै भूमिका भएको पार्टी एमाले होइन,’ उनले भने।

प्रभु शाहको विद्रोह

प्रभु शाह २०७९ असोज २१ गतेअगाडि एमालेमा कार्यकर्ता भित्र्याउन सक्रिय थिए। शाहले दिनहुँजसो मधेशबाट अन्य दलका नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गराइरहेका थिए।

उम्मेदवारी दर्ताको दुई दिनअगाडि सम्म शाहले मधेशलाई एमालेमय बनाउने गरी काम गरिरहेका थिए तर उम्मेदवारी दर्ता हुने दिन उनले एमालेको टिकट गोजीमा बोकेर स्वतन्त्र उम्मेदवारी दिए।

त्यसपछि एमाले नेतृत्वमा झस्का पस्यो। यसपछि मधेश प्रदेशलाई एमालेमय बनाउन सक्रिय रहेका शाहले अचानक पार्टी छोडेसँगै अध्यक्ष केपी शर्मा ओली सचेत देखिए। शाहले जनता समाजवादी पार्टीसँग ओलीले गरेको गठबन्धनप्रति असन्तुष्टी जनाएका छन्। उनले एमाले–जसपा गठबन्धनलाई अपवित्र गठबन्धन रहेको बताउने गरेका छन्।

जसपाले नागरिकता विधेयकमा एमालेको वैवाहिक अंगीकृतलाई ७ वर्षे प्रावधानको पक्षमा आवाज उठाएको थियो। तर जसपाले मधेश प्रदेशमा शृंखलाबद्ध आन्दोलनको घोषणा गरेको थियो। त्यसैविरुद्ध शाहले विद्रोह गरेका हुन्।

‘ओलीले गठबन्धन र भागबन्डाको राजनीति गर्दिनँ भन्नु भएको थियो। जसपा गलत पार्टी हो त्योसँग सहकार्य सम्भव छैन भनिरहँदा ओलीजीले सहमति गर्नुभयो। उपेन्द्र यादवसँग ओलीले गरेको सहमति एमालेजनले नै थाहा पाएका छैनन्,’ उनले भने, ‘ओलीजीले केही गर्नुहुन्छ कि भन्ने विश्वास थियो तर जसपासँगको स्म्झौताले सबै धर्मराइदियो।’

 

Nabintech