२१ कार्तिक २०८१, बुधबार
मासुका लागि डाँफेकाे सिकार, राष्ट्रिय पक्षी लोप हुने खतरामा

स्थानीय बजारमा राम्रो दाम र माग भएकाले पक्षी डाँफे, कालिज लगायत जङ्गली जनावर मार्ने क्रम दिनानुदिन बढदै


  • टाइम्स संवाददाता

  • ७ पुष २०७९, बिहीबार १४:३१

बझाङ : बझाङमा डाँफे, कालिज, लाटाेकाेसेराे लगायतका पक्षी तथा जङ्गली जनावरकाे चाेरी सिकार बढ्न थालेकाे छ । बझाङकाे साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, तल्कोट गाउँपालिका, थलारा गाउँपालिका, मष्टा गाउँपालिका, जयपृथ्वी नगरपालिकाका विभिन्न वडाहरुमा चोरी सिकार बढेकाे हाे । यसरी मासुका लागि सिकार गर्दा राष्ट्रिय पक्षी डाँफे भने  लोप हुने अवस्थामा पुगेको छ।

सुर्मा, दौलिचौर, रिलु, दहबगर, लेकगाउँ, मेलविसौना, सुनिकोट, कैलाश लगायतका वनक्षेत्रमा भरुवा बन्दुक प्रयोग गरेर र पासो थापेर दैनिक ८ देखि १० वटासम्म डाँफे, कालिज तथा दैनिक १/२ वटाका दरले झारल, बँदेल, घोरल, रतुवा लगायतका जनावर  मार्ने गरेको पाइएको छ ।

स्थानीय बजारमा राम्रो दाम र माग भएकाले पक्षी डाँफे, कालिज लगायत जङ्गली जनावर मार्ने क्रम दिनानुदिन बढदै गएको हो । सदरमुकाम लगायतका आसपासका क्षेत्रमा एउटा डाँफे ३ हजार रुपैयाँसम्म बिक्री हुने गरेको पाइएकाे छ । १ हजार ५ सयदेखि १८ सयसम्म गाउँमै बेच्ने गरेको पाइएकाे छ । यस्तै, जङ्गली जनावर झारल, नाउर, रतुवाको मासु प्रतिकेजी १ हजार रुपैयाँदेखि १ हजार ५ सय रुपैयाँसम्म बिक्री हुने गरेको बताइन्छ । कालिज १ हजार ५ सयदेखि २ हजार रुपैयाँसम्म बिक्री हुने गरेको छ ।

यहाँ उपहार स्वरुप डाँफे, कालिज लगायत पक्षी तथा जङ्गली जनावरको मासु खुवाउने चलन रहेकाे स्थानीय बताउँछन् । सिकार बढ्दै गएपछि प्रशस्त भेटिने डाँफे, कालिज तथा जङ्गली जनावर आज भोलि मुस्किलले भेटिने गरेका छन् । राष्ट्रिय पक्षी डाँफे लाेप हुने अवस्था आउँदा समेत संरक्षणमा स्थानीय सरकारले चासाे देखाएकाे छैन ।

सिकारीहरुले चैनपुरका हाेटल र पसलमा जङ्गली जनावरकाे मासु तथा पक्षी ल्याउने र व्यापारीहरुले फाइदा खाएर बिक्री गर्ने गरेकाे स्थानीय बताउँछन् । जाडाे माैसममा सिकार झनै बढ्ने गरेकाे उनीहरुकाे भनाइ छ । गाउँ नजिकै जंगल रहेकाले  सिकार खेल्ने समूह नै भरुवा बन्दुक लिएर जाने गरेका स्थानीयले बताएका छन् । रातिकाे समयमा बन्दुक पड्किएका आवाज आउने गरेको भए पनि गाउँपालिका, प्रहरी प्रशासन लगायत सम्बन्धित निकायले चासाे नदेखाउँदा चाेरी सिकार नियन्त्रणमा आउन नसकेकाे उनीहरुकाे भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयका निमित्त कार्यालय प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रमोद बहादुर चनले यस विषयमा अहिलेसम्म कुनै ठाउँबाट उजुरी नआएको बताउनु भयाे । डिभिजन वन कार्यालय बझाङका प्रमुख कर्णबहादुर खातीले भने चाेरी सिकार नियन्त्रणका लागि गस्ती खटाउने र सञ्चार माध्यममा प्रचारप्रसार गर्ने निर्णय भएकाे बताउनु भयाे ।

यस्तै, जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख इन्स्पेक्टर रमेश अवस्थीले चोरी सिकार भए गोप्य सूचनामार्फत् जानकारी गराउन नागरिकलाई अनुरोध गर्नुभएकाे छ । सूचना दिने व्यक्तिकाे नाम गाेप्य राखेर संलग्नलाई कारबाहीकाे प्रक्रियामा ल्याइने उहाँले बताउनु भयाे ।

Nabintech