२४ बैशाख २०८१, सोमबार
महोत्सवमा सल्यानी खुकुरीदेखि विद्युतीय घट्टसम्म

  • टाइम्स संवाददाता

  • २२ पुष २०७९, शुक्रबार १३:०४

सल्यान :सल्यानमा जारी महोत्सवमा सल्यानी खुकुरी र विद्युतीय घट्ट सबैको रोजाइमा परेका छन् । पुस १३ गतेदेखि जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा जारी लघु घरेलु उद्योग, कृषि, पशु, पर्यटन तथा सांस्कृतिक महोत्सवमा स्थानीयले आफ्नै सीपबाट निर्माण गरेका खुकुरी र विद्युतीय घट्ट दर्शकहरुको रोजाइमा परेका हुन् ।

महोत्सवको प्रवेशद्वार नजिकैका स्टलमा राखिएका ती सामग्रीले जिल्लाका स्थानीयको सीपलाई झल्काएको मात्रै छैन, उत्पादित सामग्रीको प्रचारप्रसार र बजारीकरणमासमेत टेवा पुगेको छ । अहिले सल्यानी खुकुरी र विद्युतीय घट्ट हेर्ने, फोटो खिच्ने, नयाँ खरिद गर्नेहरुको जमात धेरै नै छ । महोत्सवले आफूहरुले उत्पादन गरेका सामग्रीहरुको बजारीकरण र प्रचारप्रसारमा टेवा पु¥याएको उद्यमीहरुको भनाइ छ ।

जिल्लाको शारदा नगरपालिका–२ खलंगाका विष्णु विश्वकर्माले आफूले बनाएका सल्यानी खुकुरीहरु प्रदर्शनीमा राख्नुभएको छ । उहाँले राखेका सल्यानी खुकुरीको प्रचारप्रसार मात्रै भएको छैन, बजारीकरणसमेत भएको छ । केही खुकुरी बिक्री भइसकेका छन् भने केहीले नयाँ खुकुरीका लागि अर्डर गरेका छन् । देश, विदेशमा सल्यानको चिनोको रुपमा खुकुरी पठाउनु तथा अन्य घरायसी कामको लागि प्रयोग गर्नेको संख्यामा बृद्धि भएपछि सल्यानी खुकुरीको माग पनि बढेको छ ।

जिल्लाभित्र हुने विभिन्न कार्यक्रममा सहभागी पाहुनाहरुलाई उपहार स्वरुप खुकुरी दिन थालेपछि सल्यानी खुकुरीको माग बढेको हो तर मागअनुसारको खुकुरीको उत्पादन भने हुन सकेको छैन । उहाँले फलामबाट वन्ने खुकुरी, खुँडा, चुलेसी, चक्कु, हँसियालगायतका सामग्री बनाउँदै आएको बताउनुभयो ।

उहाँले दशैंलगायतका चाडपर्वका समयमा मागअनुसारको खुकुरी बनाउनै नसकिने बताउनुभयो । ‘खुकुरीको माग दशैंको बेलामा धेरै आउँछ, अहिले पनि मासिकरुपमा एक लाखबढीका खुकुरी, खुँडालगायतका सामग्री बिक्री हुन्छन्’– उहाँले भन्नुभयो– ‘सल्यानी खुकुरीको प्रचारप्रसार र बजारीकरणमा महोत्सवले ठूलो सहयोग मिलेको छ ।’ सल्यानी खुकुरी काठमाडांै, नेपालगञ्ज, दाङ र अमेरिका, अष्टे«लियालगायतका देशमा उपहारका रुपमा पठाउने गरिन्छ ।

सल्यानी खुकुरीको प्रदर्शनी स्टलसँगै रहेको छ– सल्लीबजारमा रहेको कालिका इन्जिनियरिङ्ग उद्योगमा उत्पादन भएको विद्युतीय घट्ट । यसले पनि महोत्सवमा आउने जो कोहीको पनि मन जितेको छ । पछिल्लो समयमा पानीका मुहान सुक्दै जान थालेपछि पानी घट्टको विकल्पको रुपमा सञ्चालक घनश्याम केसीले विद्युतीय घट्ट निर्माण गर्नुभएको छ ।

विद्युतीय घट्टको प्रचारप्रसार र बजारीकरणमा सहयोग होस् भन्ने हेतुका साथ महोत्सवमा विद्युतीय घट्ट र धान कुटानी मेसिन प्रदर्शनीमा राखिएको उहाँको भनाइ छ । पानी कम भएको ठाउँका लागि विद्युतीय घट्ट प्रभावकारी भएको उहाँले बताउनुभयो । ‘सल्यानका डाँडामा रहेको बस्तीका बासिन्दाहरु कुटानी पिसानी गर्न खोलामा झर्नु पर्ने बाध्यता देखेर विद्युतबाट चल्ने घट्ट बनाएको हुँ, अहिले सल्यानमा मात्रै नभएर रुकुम र जाजरकोटमासमेत यसको माग धेरै छ’– उहाँले भन्नुभयो ।

एक जोडी विद्युतीय घट्ट ७० हजारदेखि एक लाख रुपैयाँसम्म बिक्री हुने गरेको केसीले बताउनुभयो । ‘महोत्सवमा मात्रै चारवटा विद्युतीय घट्ट बिक्री भए, केही घट्टको अर्डरसमेत आएको छ’– उहाँले भन्नुभयो– ‘पानी घट्टमा लाग्ने जाँतो नै यसमा प्रयोग हुन्छ तर पानीको ठाउँमा घट्ट घुमाउन बिजुली प्रयोग गरिएको हुन्छ ।’ उहाँले विद्युतीय घट्टले एक घण्टामा दुई मुरी पिस्ने बताउनुभयो ।

‘उद्योग गरौं, उद्यमी बनौं, देश विकासमा टेवा पु¥याऔं, मेहनत, सिर्जना, उत्पादन र बस्तु मेरै नेपालको’ भन्ने नाराका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघ सल्यानले सञ्चालन गरेको महोत्सव पुस २३ गते शनिबार समापन हुँदैछ । महोत्सवमा करिब दुई सय स्टल रहेका छन् ।

Nabintech