४ जेष्ठ २०८१, शुक्रबार
नेपालगञ्जमा दादुराबाट ३६ बालबालिका संक्रमित, १० हजार जनालाई खोप लगाइने

संक्रमित सबै बालबालिकाको शि:शुल्क उपचार


  • टाइम्स संवाददाता

  • २३ पुष २०७९, शनिबार १६:१५

नेपालगञ्ज : नेपालगञ्जमा तीव्र रूपमा फैलिएको दादुरा संक्रमण नियन्त्रण गर्न दादुराविरुद्धको खोप अभियान तीव्र पारिएको छ। दादुरा फैलिएको नेपालगञ्ज उपमहानगरका ५, ७ र ८ नम्बर वडामा स्थानीय तह, प्रदेश सरकार, प्रदेश स्वास्थ्य निर्देशनालय र  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संयुक्त प्रयासमा खोप कार्यक्रम तीव्र पारिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले बताए।

उनका अनुसार हाल स्कुल र स्थानीय स्वास्थ्य संस्थालाई आधार मानेर ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुराविरुद्धको खोप लगाउने अभियान तीव्र पारिएको बताए। पाँच दिनभित्र उक्त वडाका कम्तीमा १० हजार बालबालिकालाई दादुराविरुद्धको खोप लगाउने लक्ष्यसहित शुक्रबारदेखि महामारी लक्षित खोप अभियान शुरु गरिएको बताए।

‘संक्रमण झन् फैलिँदै गएपछि हामीले संघीय सरकार‚ स्थानीय तह र प्रदेश सरकारको समन्वयमा महामारी लक्षित खोप अभियान शुरु गरेका हौँ, हिजो पहिलो दिन ८७५ जना बालबालिकामा खोप लगायौँ’‚ खोप सुपरभाइजर श्रेष्ठले भने। हाल दादुरा संक्रमण देखिएका बालबालिकामध्ये केहीले खोप नलगाएको पाइएकाले खोप अभियान शुरु गरिएको बताए।

श्रेष्ठका अनुसार शनिबारसम्म दादुराबाट संक्रमित हुने बालबालिकाको संख्या ३६ जना पुगिसकेको समेत बताए। ‘हालसम्म दादुराबाट संक्रित हुने बालबालिकाको संख्या ३६ पुगिसकेको छ भने ३१ महिनाको एक बालकको मृत्यु समेत भएको छ’‚ श्रेष्ठले भने। हाल संक्रमित सबै बालबालिकाको शि:शुल्क उपचार गरिएको समेत उनको भनाइ छ।

नेपालमा स्वास्थ्य संस्थाहरूले ९ महिना र १५ महिनाको उमेरमा दुईपटक बालबालिकालाई निःशुल्क दादुराविरुद्ध खोप दिँदै आएका छन्।​ यसैअनुसार सरकारले  सन् २०२३ सम्म नेपालबाट दादुरा रोग निवारण गर्ने लक्ष्य समेत लिएको थियो। दादुरा श्वासप्रश्वासको माध्यमबाट सर्ने र सजिलै फैलिने खालको सरुवा रोग हो। मिजल्स भाइरसको संक्रमणको कारण यो रोग लाग्ने गर्छ।

 

Nabintech