३ जेष्ठ २०८१, बिहीबार
६९ जनाको शव भेटियो, ३ जना अझै फेला परेनन्

दुर्घटनामा परेकामध्ये १३ जनाको सनाखत


  • टाइम्स संवाददाता

  • १ माघ २०७९, आईतवार १७:५५

पोखरा: आइतबार बिहान  पोखरामा भएको यति एयरलाइन्सको एटिआर जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसी अनुसार साँझ साढे ४ बजेसम्म ६९ जनाको शव फेला परेको हो।  तीमध्ये ३४  शव गण्डकी अस्पतालमा लगिएको छ। ३२ जनाको शव प्रहरीले घटनास्थलमा संकलन गरिसकेको छ।

तीन जनाको शव फेला परे पनि निकाल्न कठिन भइरहेको एसपी केसीले जानकारी दिए।   प्रहरीले क्रेनको प्रयोग गरेर पनि शव निकाल्न खोजेको थियो। तर उक्त क्रेनबाट पनि शव निकाल्न सम्भव नभएको केसीले बताए।  ‘खोंचमा तीन जनाको शव देखिएको छ। तर निकाल्न सकिएको छैन,’ उनले भने, ‘क्रेन पनि प्रयोग गर्‍यौं। तर त्यसबाट पनि सम्भव भएन।’

यस्तै तीन जनाको अवस्था भने अझै अज्ञात रहेको उनले बताए। उनीहरूको पनि खोजी भइरहेको छ।  घटनास्थलमा उद्धार तथा खोजतलासको काम आज नै सक्न सम्भव नभएको पनि एसपी केसीले बताए।  आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको जहाज ११ बजे दुर्घटना भएको हो। जहाज पोखरा-१५ स्थित सेती नदीको खोंचमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर ज्यान गुमाउनेमा पोखरा घर भएका निशान्त आचार्य र काठमाडौँकी संगीता शाहीसहित १३ जना छन् ।  दुर्घटनामा मृत्यु हुनेमा लक्ष्मी पौडेल, २७ वर्षीय सदाकत अलिमिया, ३८ वर्षीय डा. सुशिल श्रेष्ठ, डा. सोना दिवाकर, अरुण पौडेल कुश्मा र प्रसिद्धि पौडेल छन् । प्रहरीका अनुसार पूर्ण बहादुर गुरुङ, कुमार गुरुङ, कोरियन नागरिक क्युङ्गचुल यु, विजय कुमार गुरुङ र बागलुङ घर भएकी रचना काफ्ले पौडेलको सनाखत भएको छ ।

दुर्घटनामा लोकगायिका निरा छन्त्यालको मृत्यु

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा परेर लोकगायिका निरा छन्त्यालको मुत्यु भएको छ।  उनको मृत्यु भएको खबर उनकी दिदी हिरा छन्त्यालले पुष्टि गरेकी छन्।

दिदी हिराका अनुसार निरा पोखरामा आयोजना हुने चौथो संगबहादुर तथब्जा स्मृति कप कार्यक्रममा सहभागी हुन जान लागेकी थिइन्।उनले आजै बिहान आफ्नो एक तस्बिर सार्वजनिक गर्दै माघे संक्रान्तिको शुभकामनासमेत दिएकी थिइन्। ‘माघे संक्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनु हुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्छु,’ उनले लेखेकी थिइन्।

गायिका छन्त्यालको मृत्यु भएको जानकारी पाएसँगै पोखरामा आयोजना हुने भनिएको कार्यक्रम स्थगित गरिएको आयोजक संस्थाका सचिव नवीन घर्ती छन्त्यालले बताए।

‘हामी पोखरामा बस्ने छन्त्यालहरूले आफ्नो महान् पर्व भनेर उहाँलाई कार्यक्रममा उपस्थित हुन अनुरोध गरेका थियौं। उहाँको दुर्घटना भएको जानकारी पाएसँगै हामीले कार्यक्रम स्थगित गरेका छौं,’ उनले भने। नेपाल छन्त्याल समाज कास्कीले आज माघ १ गते अन्तरछन्त्याल गाउँपालिका वडास्तरीय पुरुष तथा क्लबस्तरीय महिला भलिबल प्रतियोगता राखेको थियो।

आज बिहान काठमाडौंबाट पोखरा उडेको एटिआर जहाज पोखरामा दुर्घटनाग्रस्त भएको हो। विमानमा दुई पाइलट, दुई जना एयर होस्टेससहित ७२ जना यात्रु सवार थिए। गायिका छन्त्यालले आफ्नै युट्युब च्यानलमार्फत लाइभ दोहारी गाउँथिन् जुन चर्चित छन्।  उनले यसै वर्ष ‘संगीनी’ बोलको तीज गीत पनि गाएकी थिइन्।

Nabintech