२ जेष्ठ २०८१, बुधबार
सार्क पत्रकार सम्मेलन भारतमा सम्पन्न

सम्मेलनले जारी  गरेका सात बुँदे घोषणापत्र सहित


  • टाइम्स संवाददाता

  • ३ माघ २०७९, मंगलवार १५:५६

नेपालगञ्ज:  दक्षिण एशियाली पत्रकारहरुको संस्था सार्क पत्रकार मञ्च (एसजेएफ) ले ”राष्ट्र निर्माणमा पत्रकारको भूमिका” विषयक दुईदिने सञ्चार सम्मेलन सहित सात बुँदे नोयडा घोषणापत्र जारी गरेको छ ।

भारतको ग्रेटर नोइडास्थित गौतमबुद्ध विश्वविद्यालयको सहकार्यमा हालै सम्पन्न सम्मेलनले पत्रकारिता तथा आमसञ्चारका मूल्य—मान्यता, आचारसंहिता र सिद्धान्तको सम्मान गर्दै सञ्चारमाध्यमबाट प्रवाहित हुने सबै सन्देशलाई आवाजविहीनहरूको आवाज बनाउँदै प्रेस एवम् अभिव्यक्ति स्वतन्त्रताका लागि प्रतिबद्धता व्यक्त गरेको कुरा सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामाले जानकारी दिएका छन् ।
नेपाल, भारत, बंगलादेश, भुटान र श्रीलंका देशका पत्रकारहरुको सहभागिता रहेको सार्क पत्रकार अन्तराष्ट्रिय सम्मेलनको समापनका अबसरमा भारतका केन्द्रिय उद्योग मन्त्रि डा. महेन्द्रनाथ पाण्डेले पत्रकारीताको माध्यमबाट सार्क राष्ट्रभरि भाईचाराको सम्बन्ध बिस्तार गर्नेमा जोड दिए ।

सम्मेलनले जारी  गरेका सात बुँदे घोषणापत्र

१. यो सम्मेलन सार्क क्षेत्रका सबै देशहरूमा उदाउँदो आमसञ्चार र पत्रकारिता उद्योगलाई राज्यको चौथो स्तम्भको रूपमा स्थापना गर्न माग गर्दछ।

२. पत्रकारहरुको पेशागत सन्तुष्टि र सुरक्षा सुनिश्चित गर्न सार्क राष्ट्रका सबै सरकारहरुलाई यो सम्मेलन आग्रह गर्दछ ।

३. पत्रकारको अधिकारको सम्मान गर्न र आफूले प्रकाशन गर्न चाहेको सञ्चारमाध्यमका लागि सूचना सङ्कलन र सम्प्रेषण गर्न सबैलाई यो सम्मेलन अपिल गर्दछ ।

४. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई हरेक पक्षमा सुनिश्चित गर्न सार्क क्षेत्रका सबै सरकारलाई यो सम्मेलन आग्रह गर्दछ ।

५.सामाजिक परिवर्तनका लागि जनमत र स्वाधीनतासहितको राष्ट्र निर्माणको चिन्तन विकास गर्न यो सम्मेलन सबै पक्षलाई हार्दिक अपिल गर्दछ ।

६. यो सम्मेलन सार्क देशका सबै कर्पोरेट एजेन्सीहरूलाई मूल्य, मान्यता र नैतिकताका साथ काम गर्न आग्रह गर्दछ।

७. यो सम्मेलन विकास, प्रगति र स्थायित्वका लागि सार्क राष्ट्रका सबै सरकारहरूलाई यस क्षेत्रमा दिगो शान्ति कायम गर्न आग्रह गर्दछ।

करिब  चार दर्जन बिभिन्न विषयगत सत्रमा कार्यपत्र प्रस्तुत भएको सो सम्मेलनको उद्घाटनसत्रमा भारतीय जनसञ्चार संस्थानका महानिर्देशक प्रा.डा. सञ्जय द्विवेदी तथा गौतम बुद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. आरके सिन्हा, समापनसत्रमा भारतको केन्द्रीय उद्योगमन्त्री डा. महेन्द्रनाथ पाण्डेले सम्बोधन गर्नुभएको थियो । सम्मेलनमा मञ्चका महासचिव मोहम्मद अब्दुर रहमानले प्रस्तुत गर्नुभएको साङ्गठनिक प्रतिवेदन पारित भयो । मञ्चको भारत शाखामा डा अनिरुद्ध सुधाम्शुको नेतृत्वमा कमिटी पुनः गठन गरेको छ ।

अन्तर्राष्ट्रिय समितिको रिक्त सदस्यमा भारतका पत्रकार प्रा.डा. स्मृता मिश्रलाई चयन गरेको छ । सम्मेलनमा नेपाल शाखाका संयोजक प्रकाश सिलवालको नेतृत्वमा २० नेपाली पत्रकारहरुको सहभागिता थियो ।  मञ्चले आगामी वर्षको सम्मेलन बङ्गलादेशको ढाकामा आयोजना गर्ने जनाएको छ ।

Nabintech