३ जेष्ठ २०८१, बिहीबार
आगोमा जलेका राउटे युवा शाहीको मृत्यु

  • टाइम्स संवाददाता

  • ५ माघ २०७९, बिहीबार १३:४६

दैलेख : आगलागीमा परेर घाइते भएका राउटे सदस्य नारायण शाहीको मृत्यु भएको छ । गत पुस १९ गते राति दैलेखको नारायण नगरपालिका–९ को चुप्रा नजिक जंगलमा बस्दै आएका लोपोन्मुख राउटे बस्तीमा आगलागी हुँदा ४० वर्षीय शाही जलेका थिए ।

उपचारका लागि काठमाडौं लगिएका शाहीको आगोले जलेको १६ दिनपछि गएराति मृत्यु भएको हो । दैलेख र सुर्खेतमा उपचार सम्भव नभएपछि शाहीलाई काठमाडौंस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । शरीरको ३० प्रतिशत भाग जलेका शाहीको उपचार सम्भव नहुने भन्दै ट्रमा सेन्टरले घर लैजान भनेको थियो ।

अस्पतालले बिदा दिएको एक घण्टापछि एम्बुलेन्सबाट दैलेख ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको नारायण नगरपालिका ९ का वडाध्यक्ष महेन्द्रविक्रम खड्काले जानकरी दिए । उनको शव अहिले कर्णाली प्रादेशिक अस्पतालमा राखिएको छ । चिसोका कारण न्यानो बनाउन बालेको आगोमा परी शाही जलेका थिए ।

कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका राउटे नागरिक हाल दैलेखको नारायण नगरपालिका –८ सालखर्कमा बसोबास गरिरहेका छन् । हाल उनिहरुको जनसंख्या एक सय ४३ छ ।

Nabintech