२ जेष्ठ २०८१, बुधबार
वीर अस्पतालमा शुरु भयो क्याथ ल्याब

दैनिक ३० जनाको एमआरआई गर्दा पनि अझै १५ दिन कुर्नु पर्ने अवस्था


  • टाइम्स संवाददाता

  • ५ माघ २०७९, बिहीबार १४:२८

काठमाडौँ : वीर अस्पतालले मुटुरोग सम्बन्धी उपचारका लागि आवश्यक पर्ने क्याथ ल्याब सेवाको शुरुवात गरेको छ। उक्त क्याथ ल्याब सेवाको बिहीवार स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले उद्घाटन गरेका छन्। त्यस अवसरमा स्वास्थ्यमन्त्री गिरीले आफूले गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितता र संरचनागत तथा व्यवस्थापकीय सेवा सुधारका लागि काम गर्ने समेत बताएका छन्।

उनले कुनै पनि नेपालीले उपचार नपाएर अकालमा मृत्युवरण गर्न नपरोस् भन्ने मूल उद्देश्यका साथ यसमा केन्द्रित हुन र अस्पतालका उपकरण छिटो बिग्रने कुराप्रति आफ्नो ध्यानाकर्षण भएको र भविष्यमा यस्तो हुन नदिने समेत उनले बताए।

यस्तै उक्त अवसरमा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले चारजना डिएम भएको ठाउँमा एउटा  क्याथ ल्याब आवश्यक हुन्छ भन्ने भएर यो सेवा विस्तार गरिएको बताए। त्यस अवसरमा उनले ओपिडी र सर्जरीको लाइन घटाउने सरकारको मूल लक्ष्य भएकाले त्यस कार्यका लागि तल्काल कार्य योजना बनाएर अगाडि बढ्न समेत अस्पताललाई निर्देशन दिएका छन्।

अस्पतालका मुटु विभागका प्रमुख डा. समीर पौडेलले यस विभागका लागि अति आवश्यक क्याथ ल्याब सेवा शुरु गर्न लागेको र  जनताले वीरमा मुटु रोग सम्बन्धी उपचार गर्दा अति कम शुल्कमा क्याथ ल्याब सेवा  लिन सक्ने उनले बताए।

सो अवसरमा वीर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. भूपेन्द्र बस्नेतले हाल वीरमा मासिक करिब ५० जना क्याथ ल्याब आवश्यक भएका बिरामी अस्पताल आइपुग्ने र उनीहरूले अब यो सेवा पाउने बताए।

अस्पतालका सेवाहरूबारे संक्षिप्त जानकारी दिँदै डा. बस्नेतले वीर अस्पतालकै विभागहरू विशिष्टीकृत अस्पतालका रूपमा कान्ति बाल अस्पताल, प्रसूति गृह, मानसिक अस्पताल बनेको बताए। उनले कतिपय सेवा नर्सिङ जनशक्ति अभावले विस्तार गर्न नसकेको जानकारी दिए। दैनिक ३० जनाको एमआरआई गर्दा पनि अझै १५ दिन कुर्नु पर्ने अवस्था रहेको पनि बताए।

Nabintech