५ जेष्ठ २०८१, शनिबार
सभामुख घिमिरेको राजनीतिक यात्रा : माधवबाट पेलान, ओलीबाट अवसर

सभामुखमा निर्वाचित भएसँगै अब उनले राजनीतिक दल तथा त्यससँग सम्बन्धित सक्रियताका सम्पूर्ण पदहरूबाट राजीनामा दिनुपर्ने संवैधानिक व्‍यवस्था 


  • टाइम्स संवाददाता

  • ५ माघ २०७९, बिहीबार १६:१९

काठमाडौँ : नेकपा एमालेका सांसद देवराज घिमिरे सभामुख निर्वाचित भएका छन्। बिहीवार भएको मतदानमा घिमिरे १६७ मतसहित विजयी भएका हुन्।

घिमिरे सत्ता गठबन्धनको समर्थनमा नेकपा एमालेबाट उम्मेदवार बनेका थिए। उनले बुधवार सभामुखमा उम्मेदवारी दिएका थिए। सुवास नेम्वाङ प्रस्तावक र गृहमन्त्री रवि लामिछाने, ऊर्जामन्त्री राजेन्द्र लिङ्देन र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे समर्थक रहेका छन्।

को हुन् घिमिरे? 

वि.सं २०१३ जेठ १३ गते ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा जन्मिएका घिमिरेले २०२९ सालमा ताप्लेजुङको भानु पब्लिक हाइस्कूलबाट एसएलसी उत्तीर्ण गरेका थिए।

धरानको महेन्द्र बहुमुखीबाट आईए र त्रिचन्द्रबाट आईएस्सी पास गरेका उनी २०३१ सालमा झापा विद्रोहपछि सक्रिय राजनीतिमा लागेका हुन्। नेकपाको सम्पर्कमा रहेर २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटीको विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा आएका पुराना कम्युनिष्ट नेताका रूपमा परिचित छन्।

२०३५ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका उनले २०३९ सालमा इलामको जिल्ला इञ्चार्ज भएर काम गरेका छन्। २०४९ मा एमालेको पाँचौं महाधिवेशनबाट केन्द्रीय सदस्य र २०५० मा एमालेको मेची अञ्चल इञ्चार्ज भएका थिए। २०४८ सालको निर्वाचनमा भाग लिन अस्वीकार गरेका थिए।

२०५६ मा राष्ट्रियसभा सदस्य भएका उनले २०५८ मा केन्द्रीय विभागअन्तर्गत स्वास्थ्य विभागको इञ्चार्ज हुँदै इञ्जिनियरिङ विभाग, राष्ट्रिय शिक्षक संगठन प्रगतिशील प्राध्यापक संघको इञ्चार्जको रूपमा काम गरेका थिए।

हाल उनी झापाको अर्जुनधारा नगरपालिका-६ मा बसोवास गर्दै आइरहेका छन्। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा झापा–२ बाट निर्वाचित घिमिरे एमाले स्थायी कमिटी सदस्यसमेत हुन्। उनले पहिलोपटक प्रतिनिधिसभामा पाइला टेकेका हुन्। घिमिरे पहिलोपटक झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्। हाल एमाले प्रदेश नम्बर १ को पार्टी इञ्चार्जको भूमिकामा रहेका छन्।

उनी २८ हजार ७१६ मत ल्याउँदै झापा २ बाट निर्वाचित भएका हुन्। उनले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई २ हजार २६१ मतले पराजित गरेका हुन् ।

घिमिरे पार्टीमा पेलानमा परेका नेता हुन्। २०५८ सालमा मेची अञ्चल इञ्चार्जको भूमिकामा रहेका घिमिरे एमालेमा माधव नेपालको आगमनसँगै निरन्तर पछि पर्दै गए। उनलाई नेपालले मेची इञ्चार्जको जिम्मेवारीबाट हटाइदिए। पार्टीमा लामो समयदेखि सक्रिय रहेर पनि भूमिका विहीन अवस्थामा रहेका उनलाई केपी शर्मा अ‍ोली एमालेको नेतृत्वमा आएसँगै अवसर दिन थाले।

ओलीले आफू स्कुल विभाग प्रमुख रहँदा घिमिरेलाई उपप्रमुख बनाएका थिए। साथै उनले घिमिरेलाई आफ्नो सचिवालयमा राखेर समेत काम लगाए। २०७५ मा अध्यक्ष ओलीले उनलाई तत्कालीन नेकपाको प्रदेश १ को अध्यक्षको जिम्मेवारी दिएका थिए। साथै ओलीले उनलाई हाल एमाले प्रदेश १ का इञ्चार्जका रूपमा खटाएका छन्। सभामुखमा निर्वाचित भएसँगै अब उनले राजनीतिक दल तथा त्यससँग सम्बन्धित सक्रियताका सम्पूर्ण पदहरूबाट राजीनामा दिनुपर्ने संवैधानिक व्‍यवस्था छ।

Nabintech