१३ बैशाख २०८१, बिहीबार
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष भलिबल आजदेखि सुरु हुँदै

  • टाइम्स संवाददाता

  • ८ माघ २०७९, आईतवार ०८:३८

कास्की: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता आजदेखि पोखरमा सुरु हुँदै छ  ।  नेपालको राष्ट्रिय खेल भलिबलको विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्यसहित टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा प्रतियोगिता सञ्चालन हुनेछ ।

आयोजक टाइगर ग्रुपले शनिवार पोखरा रङ्गशालामा पत्रकार सम्मेलन आयोजना नगरी प्रतियोगिताको सबै तयारी सकिएको जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा महिलातर्फ न्यु डायमण्ड र नेपाल आर्मी भिड्ने टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार आज मध्याह्न पुरुषतर्फ त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपिएफ क्लबका बीच खेल हुनेछ ।

तेस्रो खेल आयोजक पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिसका बीच हुनेछ । प्रतियोगितामा महिलातर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, सशस्त्र प्रहरीको एपिएफ क्लब र होङ्गवान्जी न्यु डायमण्ड स्पोर्टस क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी, सेन्ट जोशेफ वाज स्पोर्टस् क्लब श्रीलङ्का, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, एपिएफ क्लब र आयोजक गण्डकी प्रदेशको टिमको सहभागिता रहने छ ।

प्रतियोगितालाई थप आकर्षक बनाउन र दर्शकलाई सहज खेल हेर्ने अवसर प्रदान गर्ने गरी यस पटक विशेष प्रकारको प्यारापिट निर्माण गरिएको र प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरको बनाउन ‘एलइडी स्क्रिन’ राखिएको अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दर्शकहरूलाई सहज खेलको अवलोकन तथा मनोरञ्जन प्रदान गर्न अस्थायी प्यारापिट बनाएका छौँ । वृद्धवद्धाका लागि छुट्टै कुर्सीको व्यवस्था गर्नेछौँ ।” आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशि दोब्बर बनाएको छ । महिला–पुरुष दुवैतर्फ च्याम्पियन टोलीलाई रु पाँच–पाँच लाख र उपविजेता टिमलाई समान नगद रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

तृतीय हुने टोलीलाई रु एक लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक देवेन्द्र केसीले दिनुभयो ।  महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद रु २५–२५ हजार प्राप्त गर्नेछन् । हरेक विद्याका उत्कृष्ट पाँच खेलाडी र प्रशिक्षकलाई रु दश–दश हजार र ट्रफीसहित सम्मान गर्ने आयोजकले जनाएको छ ।

Nabintech