१२ बैशाख २०८१, बुधबार
नेपालगञ्ज विमानस्थल: सञ्चालनमा नआउँदै बिग्रियो कार्गो एक्स–रे मेसिन

सुरक्षाको दृष्टिले संवेदनशील र व्यस्त विमानस्थलमा कार्गो जाँच गर्ने मेसिन नहुँदा सुरक्षाकर्मीले हातले छामेर र आँखाले हेरेर सामान पठाउनुपर्ने बाध्यता


  • टाइम्स संवाददाता

  • १० माघ २०७९, मंगलवार १९:२३

नेपालगञ्ज : नेपालगञ्ज विमानस्थलमा आठ महिनासम्म अलपत्र परेको ‘कार्गो जाँच एक्स–रे मेसिन’ जडान नहुँदै बिग्रिएको छ । कार्गो जाँचका लागि यहाँ ल्याइएको एक्स–रे मेसिन आठ महिनासम्म पनि जडान गरिएन ।

नागरिक उड्डयन कार्यालय नेपालगञ्जले भने सो मेसिन आएको तीन महिनापछि गत भदौमा जडान गर्न खोज्दा बिग्रिएको पाइएकाले मेसिन जडान नगरिएको जनाउँदै बिग्रिएकै अवस्थामा कम्पनीबाट आएको हुनसक्ने जनाएको छ ।

नेपालगञ्ज विमानस्थलबाट कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लामा ठूलो परिमाणको सामान हवाईजहाजमार्फत ढुवानी हुने हुँदा ती सामानको जाँचका लागि उक्त एक्स–रे मेसिन आठ महिनाअघि यहाँ ल्याइएको थियो ।

नेपालगञ्जबाट सागपात, मासु, चिनी, चामल, फलामे छड, सिमेन्ट र पाइपसम्म हवाईजहाजबाट दुर्गम पहाडी र हिमाली जिल्लामा ढुवानी हुने गरेको छ । तर सुरक्षाको दृष्टिले संवेदनशील र व्यस्त विमानस्थलमा कार्गो जाँच गर्ने मेसिन नहुँदा सुरक्षाकर्मीले हातले छामेर र आँखाले हेरेर सामान पठाउनुपर्ने बाध्यता रहेको विमानस्थलका सुरक्षाकर्मीले जनाएका छन् ।

नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख सुरेश खनालले मेसिन आएको तीन महिनापछि जडान गराउन लाग्दा बिग्रिएको भेटिएकाले कम्पनीलाई जानकारी गराइएको र कम्पनीले नै छिटै मेसिन बनाएपछि सञ्चालन गरिने जानकारी दिए ।

उनले नागरिक उड्डयनको केन्द्रीय विभागले सो मेसिन खरिद गरेर पठाएको हुँदा आफूले सोबारेमा विभागमा जानकारी गराइसकेको र आफूलाई थप जानकारी नभएको बताए । यात्रुका सानातिना सामान जाँच गर्न अहिले विमानस्थलको टर्मिनलमा एउटा मात्रै एक्स–रे मेसिन छ।नागरिक उड्डयन कार्यालय नेपालगञ्जका अनुसार नेपालगञ्ज विमानस्थलबाट दैनिक ५० देखि ६० वटा उडान हुँदै आएका छन् । मौसम सफा भए हप्तामा २० भन्दा बढी कार्गो उडान हुने गरेका छन् ।

Nabintech